
हामी परिवारका सदस्यले चन्द्रागिरि जाने निर्णय गर्यौं । त्यसका लागि हामीले वि.सं. २०८० कार्तिक १० गतेलाई रोज्यौँ । त्यस दिन बिहान ४ बजे गैडाकोटबाट हाइसमा चढी करिब ७ बजे मुग्लिन पुगेर खाजा खायौँ । हामी १० बजे त थानकोट पुगिसकेका थियौँ । थानकोटबाट सीधै दक्षिणतर्फ रहेको चन्द्रागिरि पर्वत समुद्री सतहदेखि २५ सय मिटरको उचाइमा अवस्थित रहेको छ । पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्व बोकेको उक्त स्थान अत्यन्तै रमणीय रहेको पायौँ । यो डाँडो काठमाडौं र मकवानपुरको संगम पर्ने रहेछ । यस स्थानमा छिन्–छिन्मा मौसम परिवर्तन भइरहँदो रहेछ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य राम्रो देखिने रहेछ ।
चन्द्रागिरिमा प्रसिद्ध भालेश्वर महादेवको मन्दिर अवस्थित रहेछ । त्यो धार्मिक स्थलबाट पूर्वमा काठमाडौं उपत्यकाको दृश्य देख्न सकिने र पश्चिममा मकवानपुरको चित्लाङ उपत्यका देख्न सकिने रहेछ । उत्तरमा अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गणेश हिमाल, गौरीशंकर हिमाल, सगरमाथा हिमाललगायतका अनेकौं हिमालहरु देख्न सकिन्छ । दक्षिणमा दामन एवम् महाभारत पर्वत देखिन्छ । धार्मिक, प्राकृतिक एवम् ऐतिहासिक महत्व बोकेको मन्दिर पवित्र धार्मिक स्थलका साथै आफैँमा भ्यूटावर हो, रहेछ । भालेश्वर डाँडालाई योग र साधना गर्न मिल्ने उपयुक्त ठाउँ पनि मानिने रहेछ । भालेश्वर मन्दिरनजिकदेखि एक सय मिटरको लामो बाल–खेल बगैंचा रहेको छ । चन्द्रागिरि डाँडा करिब ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको रहेछ । डाँडामा पुग्न केबलकारको व्यवस्था, एक डब्बामा ८ जना यात्रु अट्नुका साथै केबलकारमार्फत चन्द्रागिरि डाँडामा पुग्न चौध मिनेट लाग्दो रहेछ ।नेपाल एकीकरण अभियानको प्रारम्भ विन्दु पनि यही चन्द्रागिरि पर्वतबाट शुरु भएको भन्ने जनविश्वास रहेको पायौँ । शाह वंशीय राजा पृथ्वीनारायण शाह भालेश्वर महादेवको मन्दिरमा आउनुभएको थियो रे ।
त्यस ठाउँबाट पूर्वतर्फ फर्केर काठमाडौंलाई राम्रोसँग नियालिसकेपछि गोर्खा राज्यमा गाभ्ने इच्छा गर्नुभएछ । मन्दिरको पूर्वपट्टि नै पृथ्वीनारायणको शालिक पनि रहेछ । राज्य एकीकरणको तीव्र इच्छा पृथ्वीनारायण शाहले भालेश्वर महादेवसँग मागी उक्त इच्छा महादेवले पूरा गरेको जनविश्वास रहेको पायौँ । त्यसकारण भालेश्वर महादेवको मन्दिरलाई इच्छापुरेश्वर मन्दिरका नामले पनि जानिने रहेछ भन्ने कुरा मन्दिरका मूल पुजारी विदुर न्यौपानेबाट जानकारी पायौँ । उहाँले गेरु रङ्गको वस्त्रधारण गरी दर्शनार्थीका लागि मन्दिरभित्रैबाट टीका, फूल, प्रसादका साथै रुद्राक्ष पनि लगाइदिनुहुँदो रहेछ । चन्द्रागिरि डाँडा अत्यन्तै रमणीय स्थान, धार्मिक, पवित्र स्थल, बाल फनपार्क, खेल बगैंचा आदिले पनि मनमोहक रहेको छ ।
त्यहाँबाट देखिने उपत्यका, हिमाल मकवानपुरको चित्लाङ, हेटौडा जाने पहाडी घुमाउरो बाटोको दृश्यले पनि अझ बढी लोभ्याउँदो रहेछ ।हामी अपराह्न्न ३ बजे त्यहाँबाट फर्कियौँ र खाना खायौँ । बेलुकीपख करिब ४ बजे गाडी चढेर बेलुका राति १० बजे सकुशल घर आइपुग्यौँ । चन्द्रागिरि गएपछि मानिसमा छुट्टै अलौकिक आनन्दको अनुभूति हुने रहेछ । यहाँको वातावरण सुन्दर, शान्त, पवित्र, प्रदूषणरहित, स्वच्छ रहेको छ । यस्तो धार्मिक, प्राकृतिक एवम् ऐतिहासिक महत्व बोकेको ठाउँको संरक्षण र प्रवद्र्धन हुनु आवश्यक छ । स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याई आर्थिक आय– आर्जनको गतिलो माध्यम बनाउन सरोकारवालामा ध्यान जानु आवश्यक छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।