१० कात्तिक , राप्ती – अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई चिसो बढेसँगै रात गुजार्न मुस्किल परेको छ । अस्थायी रूपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न छाडेपछि चिसोमा रात गुजार्न मुस्किल परेको बाढीपीडितको गुनासो छ ।
त्रिपालबाट शीत चुहिने र स्याउलाले बनाएको छाप्रोेले हावा र शीत छेक्न नसक्दा यसपालिको जाडो कटाउन मुस्किल पर्ने राप्ती–सोनारी गाउँपालिका–२ टिकुलीपुरकी बाढीपीडित मञ्जु विकले दुखेसो गरिन् । ‘त्रिपालबाट शीत तप–तप चुहिन्छ, रातभर मुख ढाकेर सुत्नुपर्छ, बिहान उठ्दा ओढेको कपडा निथ्रुक्क भिजेको हुन्छ,’ उनले भनिन्, ‘यसपालि जाडो कटाउन मुस्किल पर्लाजस्तो छ ।’
बाढीले घर भत्किँदा सिरक–डसना घरमै पुरिएपछि सिद्धसाई कुमारी सामुदायिक वनमा बस्दै आएको टिकुलीपुरकी डोल्मा विकले बताइन् । उनले रातभर भिजेको लुगा दिउँसो सुकाएर ओढ्ने गरेको बताइन् । ‘सिरक–डसना पनि छैन, पातलो लुगा ओढ्यो, त्यो पनि रातभरमा भिजेर ओढ्न मिल्दैन,’ डोल्माले गुनासो गरिन् ।
पिउने पानी पनि अभाव
राप्ती–सोनारी गाउँपालिका–२ शमशेरगन्जका बाढीपीडितलाई खाद्यान्नभन्दा पानीको चिन्ता छ । दुर्गा सामुदायिक वनमा बस्दै आएका शमशेरगन्जका ६० परिवार बाढीपीडितले एउटा इनार बनाएका छन् । तर, उक्त इनारको पानी पिउनमा प्रयोग नभएपछि उनीहरू पिउने पानी किन्न बाध्य छन् ।
इनारको पानी दूषित भएकाले लुगा धुन र भाँडावर्तन माझ्न मात्र प्रयोग गर्दै आएको रूपा थारूले बताइन् । उनले पिउने पानीका लागि एक किलोमिटर पर जानुपर्ने बाध्यता रहेको बताइन् । ‘इनारको पानी पिउन मिल्दैन, शुल्क नतिरे पानी पिउन पाइँदैन,’ उनले भनिन् ।
पिउने पानीबापत प्रतिपरिवार मासिक ५० देखि सय रुपैयाँ तिर्दै आएको नयाँ बस्तीका रामकली थारूले बताइन् । उनले स्थानीय सोमई मगरको निजी हेन्डपम्पको पानी प्रयोग गरेबापत सानो परिवार संख्या हेरेर पानीको शुल्क तिर्दै आएको बताए । ‘सानो परिवारले मासिक ५० र ठूलो परिवारले सय रुपैयाँ शुल्क तिर्नुपर्छ,’ उनले भने । नयाँ बस्तीमा ६० परिवार बाढीपीडित बस्दै आएका छन् ।
बिरामी पर्न थाले बालबालिका र वृद्धवृद्धा
छाप्रो र त्रिपालबाट शीत चुहिने तथा चिसो हावा चल्ने समस्याले सिद्धसाई कुमारी सामुदायिक वनमा बस्दै आएका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । चिसोका कारण उनीहरूलाई रुघाखोकी र ज्वरोले सताएको स्थानीय सीताराम जैसीले बताए । चिसोले बालबालिकालाई निमोनिया लाग्ने र ज्येष्ठ नागरिकलाई रुघाखोकी लागेको उनले बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।