राजधानी संवाददाता / लमजुङ
यहि आउँ लागेको १० मंसिरमा हुन गइरहेको निर्वाचनको मैदानमा जिल्लामा वाम गठबन्धनका उम्मेदवार देव गुरुङ र नेपाली कांग्रेसका दिलबहादुर घर्तीबीच दह्रो प्रतिस्पर्धा हुने भएको छ । एक प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका नेता गुरुङ वाम गठबन्धनबाट र घर्ती कांग्रेसबाट उम्मेदवार भएका छन् ।
२०७० मंसिरमा भएको संविधानसभाको निर्वाचनमा यी दुवै उम्मेदवार निर्वाचनको स्पर्धामा थिएनन् । सो समयमा गुरुङ वैद्य नेतृत्वको माओवादीमा लागेर संविधानसभा निर्वाचन बहिष्कारमा लागेका थिए भने घर्ती समानुपातिक तर्फबाट सांसद भएका थिए । २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा मनाङ र कास्की–१ गरी दुवै निर्वाचन क्षेत्रबाट गुरुङ संविधानसभामा निर्वाचित भएका थिए । त्यसैगरी घर्ती भने लमजुङ क्षेत्र नं.२ बाट पराजित भएका थिए ।
आगामी निर्वाचनमा आदिवासी जनजाति भएर पनि कहिल्यै पनि जनजातिको मुद्दालाई नहेरेको आरोप दुवै नेतालाई लाग्दै आएको छ । ०४७ सालयता लमजुङमा जित्दै आएको कांग्रेस ०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा हारेको थियो । सो समयमा क्षेत्र नं. १ मा एमाले र २ मा माओवादीले जितेको थियो । यसैगरी २०७० मा भएको सविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं. २ मा कांग्रेस र १ मा एमालेले जितेको थियो ।
कांग्रेस पार्टीबाट उम्मेदवार भएका घर्ती संसद् राज्यव्यवस्था समितिको निवर्तमान सभापति हुन् । जिरिजाप्रसाद कोइराला पार्टी प्रमुख रहुन्जेल उनी कांग्रेसको केन्द्रीय सदस्य बनिरहे । उनी काठमाडौंमै बस्ने र कार्यक्रम हुँदाबाहेक जिल्ला नबस्ने नेता भनेर कार्यकर्ताले नै उनीमाथि आरोप लगाउँदै आएका छन् । मनाङको नासोङ–४ ओडारमा जन्मेका गुरुङ दुईपटक मन्त्री बनिसकेका छन् । आउँदो निर्वाचनमा दुवै उम्मेदवारले जित्ने दाबी गरेका छन् । कांगे्रस नेता घर्ती भन्छन्,
‘आफ्नै जिल्लाकै उम्मेदवारलाई मतदाताले भोट दिने भएकाले मेरो जित हुनेछ ।’ त्यस्तै वाम गठबन्धनका उम्मेदवार गुरुङ भन्छन्, वाम गठबन्धन भएकाले मेरो जित हुनेमा विश्वस्त छु ।’ २०७० र स्थानीय तह निर्वाचनमा वामपन्थी उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने जिल्लामा वामपन्थी पक्षमा खसेको मत बढी छ ।
०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन क्षेत्र नं. १ मा एमालेका प्रत्यक्ष उम्मेदवारले ११ हजार ३ सय ९ र कांगे्रसका उम्मेदवारले १० हजार ४ सय ११ मत पाएका थिए । यस्तै, एकीकृत माओवादीको उम्मेदवारले ६ हजार ३ सय ५५ र राप्रपाका उम्मेदवारले २ हजार २ सय ५३ मत ल्याए । एमाले र माओवादीको मत जोड्दा १७ हजार ६ सय ६४ मत हुन्छ भने कांग्रेस र राप्रपाको मत १२ हजार ६ सय ६४ हुन्छ।
त्यस्तै, क्षेत्र नं. २ मा कांग्रेसका उम्मेदवारले १४ हजार ७ सय ६५ मत, एमालेका उम्मेदवारले १४ हजार ९३ मत र माओवादी केन्द्रका उम्मेदवारले ५ हजार २ सय ९५ मत पाएका थिए । यहाँ एमाले र माओवादीको मत ३७ हजार ५२ र कांगे्रसलगायत अन्यको मत २८ हजार ९ सय २९ रहेको थियो ।