फिल्मले कथा भन्छ र फिल्मको कथा निर्देशकले भन्छ। निर्देशकको कथ्य शैलीमा नै दर्शकलाई मुग्ध पार्ने कला हुनु जरूरी छ। यसकारण निर्देशक फिल्मको कप्तान हो।
फिल्मको सारा नियन्त्रण निर्देशकको हातमा हुन्छ। विडम्बना, नेपाली फिल्म निर्देशकभन्दा पनि टिमवर्कमा ज्यादा निर्भर भइरहेको छ।
दिवाकर भट्टराईद्वारा निर्देशित ’ऐश्वर्य’ यही समस्याबाट ग्रस्त छ। फिल्मले दुई पात्रको व्यापार-युद्धको कथा भन्छ, जसमा उनीहरूका प्रेम, घृणा, बदला, स्वार्थको टकरावले कथा अगाडि बढ्दै जान्छ।
फिल्मको सबैभन्दा कमजोर पक्ष पटकथामा देखिएको छ। निर्देशकले बडो सकसका साथ कथा भनेका छन्। कुन पात्रलाई कसरी परिचय गराउँदै मूल कथामा समाहित गर्ने भन्नेमा उनी पूरै दोधारमा छन्। निर्देशकको दोधारे मनस्थिति फिल्मको सुरूवाती केही मिनेटमै छताछुल्ल हुन पुग्छ।
निर्देशकले स्विमिङ पुलमा बिकिनीमा डेब्यु हिरोइनको ग्ल्यामर पस्कन्छन् तर उनले सो मोन्टाज किन छिराए व्याख्या गर्न असफल छन्।
फिल्ममा कुनै पनि कलाकारको प्रवेश प्रसंगका साथ हुन्छ। ’ऐश्वर्य’मा प्रसंग पछि आउँछ तर मोन्टाज बिनाप्रसंग आउँछ।
’रानी’को भूमिका निर्वाह गरेकी अभिनेत्री केकी अधिकारी पनि आकाशबाट अचानक खसेको उल्कापिण्ड जसरी पदार्पण हुन्छिन्।
कथा बढाउनुभन्दा पनि भव्य फ्रेम देखाउन मात्रै निर्देशकले मेहनत गरेका छन्। निर्देशक स्वयंले लेखेको पटकथा खुकुलो छ। पर्दामा निर्देशक कथा र तीनका पात्रको ’एम्बियन्स’ दिन असफल छन् जसले फिल्मको बहाव र प्रस्तुतिलाई कमजोर बनाएको छ। हरेक सटको मजबुतीले फिल्मलाई समग्रमा मजबुत बनाउँछ भन्ने तथ्यलाई पूरै किनारा लगाइएको छ। फिल्मको अनाथलयको दृश्य संवेदनाको गहिराइसम्म पुग्दैन।
निर्देशकीय कमजोरीका बाबजुद कलाकारको अभिनय भने तारिफयोग्य छ। ’एन्टागोनिस्ट’को भूमिकामा प्रशान्त ताम्राकार (राघव) ले आफ्नो बेग्लै छाप छोडेका छन्। उनको दमदार संवाद र अभिनयले चरित्रलाई न्याय गरेको छ। डेब्यु अभिनेत्री दीपिका प्रसाईले आफूलाई सम्भावनयुक्त नायिकाको रूपमा उभ्याउन सफल छिन्।
रमेश उप्रेतीको अभिनय राम्रो भए पनि उनीबाट निकाल्नुपर्ने जति काम निर्देशकले निकाल्न सकेका छैनन्। केकीको पात्रले फिल्मको कथा उठानमा गतिलो भूमिका निर्वाह गरेको छ। पर्दामा उनले पात्रको केटाकेटीपना र अबोधपनलाई स्वाभाविक रूपमा प्रस्तुत गरेकी छिन्। यस्तै तेन्जु योञ्जनको काम पनि प्रशंसायोग्य छ।
खुकुलो सम्पादनले चिप्लिएको फिल्ममा सिनेम्याटोग्राफी प्राविधिक रूपमा सबल छ। ’तिमी रोएको पल’को मेलेडी र संगीतलाई लोकेसनले साथ दिएको छ।
फर्मुला फिल्म शैली पछ्याएको ऐश्यर्यको कथामा नौलोपन भेटिन्न। कमजोर निर्देशनले मसेदार फिल्म बनाउन खोज्दा ऐश्वर्य फिक्का बन्न पुगेको छ।