दयाराम पण्डित, बाजुरा
जिल्लाको हिमाली गाउँपालिकाको कवाडी र हुम्लाको ताजाकोट गाउँपालिकाको कवाडीमा बसोवास गर्नेहरु निकै नजिक बसोबास गर्छन्, बसोबासको भौतिक दुरी करिव ६० मिटर हाराहारी मात्र छ ।
कवाडी खोला वरपर बसोबास गर्ने स्थानीय बासिन्दा भने एकै ठाउँको पानी एकै ठाउँको रासन खान्छन् । तर खोला वारी सुगम र खोला पारी दुर्गम भएकाले त्यहाँ काम गर्ने कर्मचारीका विचमा ब्यापक असमानता छ । खोला पारी हुम्लामा खटिएका प्रहरीको मासिक दुर्गमभत्ता १९ हजार रुपैयाँ छ भने दक्षिणतिर बाजुरा कवाडीका प्रहरीले भने ७ हजार मात्रै भत्ता पाउँछन् ।
त्यस्तै स्थानीय भत्ता हुम्ला कवाडीका प्रहरीले ५ हजार भत्ता पाउँछन भने बाजुरा कवाडीमा बस्ने प्रहरीले ३ हजार मात्र पाउने गरेको कवाडी चौकी विच्छयाँका प्रहरी सहायक निरीक्षक खड्कजंग शाहीले दुखेसो गर्नुभयो । उहाँका अनुसार हुम्ला कवाडीचौकीमा १२ जना प्रहरी छन तर बाजुराको विच्छया कवाडी प्रहरी चौकीमा ७ जना मात्र कर्मचारी छन । सातजनाले पुरै हिमाली गाउँपालिका हेर्नु पर्छ जनशक्ति थपिदिन माग गरिए पनि माग अनुसार जनशक्ति नहुदा थप सास्ती भएको शाहीले बताउनु भयो ।
६० मिटर पारी दुर्गम र ६० मिटर वारी सुगभ भई पाउने सेवा सुविधामा राज्यले विभेद गरेको उहाँले बताउनु भयो । बाजुरा र हुम्ला जोड्ने कवाडी खोलाको झुलंगे पुलको दुवै छेउमा प्रहरी चौकीहरु स्थापना भएका छन । खोला वारिपारिका सरकारी कर्मचारी पनि मारमा परेका छन् । राज्यले कर्णाली प्रदेशलाई प्राथमिक्ता दिएको छ, त्यहाँ विभिन्न सुविधाहरु पनि छन तर त्यहि कर्णाली प्रदेश संग जोडिएको बाजुरा सुगममा परे पछि राज्यबाट पाउने विभिन्न सुविधाबाट बन्चित हुनु परेको हिमाली गाउपालिका वडा नं चारका अध्यक्ष रमेश विकले बताउनु भयो ।
एकै प्रकारको चामल पनि ६० मिटरको दुरीमा प्रतिक्विन्टल ८ सय महँगो पर्ने गर्छ । खाद्य संस्थानले हुम्ला र बाजुराका लागि चामल आपूर्ति गर्छ कवाडी खोला उत्तरी किनारको मैलागाउँका बासिन्दाले खाद्य संस्थानबाट अरुवा चामल प्रतिक्विन्टल ५ हजार २ सय रुपैयाँमा खरिद गर्छन् तर सोहि दक्षिणी किनारका स्थानियले भने ४ हजार ४ सयमै पाउँछन् । संस्थानले नै बंगलादेशी उसिना चामल फैतीका बासिन्दालाई प्रतिक्विन्टल ३ हजार २ सयमा बिक्री गर्छ भने छेउकै मैलाका बासिन्दाले प्रतिक्विन्टल ३ हजार ९ सय रुपैयाँमा किन्नुपर्छ ।
त्यस्तै बाजुराका अधिकांस विद्यार्थी समेत छात्रबृति पाउने आसमा कर्णालीको मुगुमा अध्ययन गर्न जाने गर्दछन । बाजुरा सुगममा परेपछि छात्रवृत्ति कटौती गरिएको र मुगु दुर्गममा भएकाले छात्रवृत्ति पाउने आसमा त्यहीँ जाने गरेको हिमालि गाउँपालिकाका नायब सुब्बा जनक शाहीले बताउनुभयो । ‘बाजुराको हिमाली गाउँपालिका र हुम्लाको तांजामैला गाउँपालिकाकोे किटतामा समान भुभाग छ । तर राज्यको नीतिगत ब्यबहार भने असमान छ’– हिमाली गाउँपालिकाका अध्यक्ष गोन्दिबहादुर मल्लले भन्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।