दोलखा ।
आलु रोप्ने चटारोमा रहेका दोलाखको शैलुङ र मेलुङ गाँउपालिकाका किसानहरु हिँउ र पानीको प्रतिक्षामा रहेका छन् । आलु रोपेको ठाँउमा ओसीलो जमिन आवश्यक हुने भएकोले उनीहरु हिँउ र पानीको प्रतिक्षामा देखिएका हुन् ।
धमाधम आलु रोप्ने काम भै रहे पनि माघको तेस्रो साता वितिसक्दा समेत हिमपात नभएको र पानी समेत नपरेकोले किसानहरु चिन्तित देखिएको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मनगाँउका श्याम श्रेष्ठले भन्नुभयो । आलु रोप्ने समयमा हिँउ र पानी प¥यो भने जमिन चिसो भै रहने र त्यसले आलु उत्पादन बढ्ने मनगाँउका श्याम श्रेष्ठको भनाई छ । आलु रोपेको जमिन चिसो भएन भने विरुवा कुहिने र उत्पादन समेत घट्ने डर हुने श्रेष्ठले बताउनु भयो । माघको दोस्रो हप्तातिर थोरै हिमपात भएकोले सेप्जिलो जमिन भएका किसानलाई भने समस्या नहुने श्रेष्ठले बताउनु भयो ।
लगभग १२ रोपनी जमिनमा आलु खेती गर्नुभएको श्याम श्रेष्ठले गतबर्ष झण्डै पाँचलाखको आलु बिक्रि गरेको बताउनु भयो । यो बर्ष राम्रोसंग हिमपात भए उत्पादन बढ्ने र हिमपात हुनसकेन भने उत्पादन घट्ने उहाँले बताउनुभयो । शैलुङकै सुवास श्रेष्ठ पनि समयमै हिमपात नभएकोले आलु उत्पादन घट्ने हो कि भन्ने चिन्ता लागेको बताउनु हुन्छ । झण्डै ३५ रोपनी जमिनमा आलुखेती गर्दै आउनु भएको सुवासले गतबर्ष सातलाख भन्दा बढीको आलु बिक्रि गर्नु भएको थियो । फागुन लाग्ने बेला भैसक्दा पनि हिमपात नभएकोले आलु उत्पादन घट्ने हो कि भन्ने चिन्ता लागेको सुवासको भनाई छ ।
शैलुङ कालापानीका लालबहादुर श्रेष्ठ आफुले आलु लगाएको जमिन सेप्जिलोनै भएकोले खासै समस्या नभएको बताउनु हुन्छ । तर पारिलो जमिन भएको ठाँउका किसानलाई भने हिमपात नभएकोले चिन्तित बनाएको लालबहादुर श्रेष्ठको भनाई छ । फागुन लाग्ने बेला भैसक्दा समेत शैलुङमा एकपटकमात्र सामान्य हिमपात भएको छ, लालबहादुर श्रेष्ठले भन्नुभयो– फागुनको दोस्रो सातासम्म पनि हिमपात भएन भने पारिलो जमिनमा आलुखेती गर्ने किसानलाई समस्या हुनसक्छ ।
शैलुङ र मुलुङ गाँउपालिकाका किसानहरुले पुषको दोस्रो हप्ताबाट आलु रोप्न सुरु गरेको र लगभग रोप्ने काम अन्तिमतिर पुगेको शैलुङका स्थानीय दिपेश श्रेष्ठले बताउनु भयो । फागुनको पहिलो हप्तासम्म सबैतिर आलुरोपेर सकिने दिपेश श्रेष्ठको भनाई छ। दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ को झोर, मनगाँउ, भित्ते, ढाँडे, कालापानी, वडा नम्बर– ६ को ढुङ्गे, चैचाप र मेलुङ गाँउपालिकाको वडा नम्बर– ३ घ्याङ र वडा नम्बर– ५ डाँडाखर्कका किसानहरुले बर्षमा ४० करोड भन्दा बढीको आलु बिक्रि गर्दै आएका छन् । पुषबाटै हिमपात हुने हो भने आलुउत्पादन निक्कै बढ्ने स्थानीय किसानहरुको भनाई छ ।
शैलुङ र मेलुङ गाँउपालिकाले आलु उत्पादनमा बृद्धि गर्ने उदेश्यले पकेट क्षेत्र तोकेर बिभिन्न सहयोग समेत गर्दै आएको छ । मेलुङ गाँउपालिकाले दुई वटा वडामा आलु प्रर्वद्धन कार्यक्रम सुरु गरेको जनाएको छ । पालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने वडा नम्बर–३ घ्याङ सुकाठोकर र वडा नम्बर–५ डाँडाखर्कमा आलु पकेट क्षेत्र अन्र्तगत आलु प्रर्वद्धन कार्यक्रम सुरु गरिएको मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकरले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।