स्याङ्जा
नावालक छदैं रोशनकी आमाले अर्को बिहे गरिन् । बाबाले उनलाई लालनपालन गर्न सक्ने अवस्थामा छैनन् । ज्यान पाल्नका लागि भारत हानिएका उनी सुस्त मनस्थिति रहेको बताइएको छ । हजुरआमा गुञ्जेश्वरी शर्माको पहिरोमा परि १ महिनाअघि मृत्यु भएपछि १४ वर्षीय रोशन शर्मा एक्लो भएका छन् । साहाराविहिन जस्तै बनेका उनी आफ्नो घर र हजुरआमा पहिरोमा पुरिएपछि केही दिन कान्छो हजुरबुवाको घरमा बसेका थिए ।
साहाराविहिन रोशनलाई स्थानीय समाजसेवी डिआर पोख्रेलको सहयोगमा काठमाडौं पु¥याईएको छ । काठमाडौंमा पूर्व कानुनमन्त्री धनराज गुरुङको सहजीकरणमा रोशनले बज्र एकेडेमीमा अध्ययन गर्ने भएका छन् । ललितपुरको बज्र एकेडेमीले रोशनलाई कक्षा १२ सम्म आवासीय सुविधासहित निःशुल्क पढाउने भएको छ । उनलाई एक्लो हुन नदिन आफूले सक्दो प्रयास गरेको समाजसेवी पोख्रेलले बताए ।
हजुरआमाको संरक्षकत्वमा हुर्किएका रोशन कक्षा ७ मा अध्ययनरत छन् । उनी खेल्ने क्रममा घरबाहिर भएकाले पहिरोबाट जोगिए । असारको चौंथो साता शनिवार स्याङ्जामा बाढीपहिराले वितण्डा मच्चायो । सोही दिन बिरुवा गाउँपालिका ६ स्याङदीका माधव शर्मा, हरिमाया शर्मा र गुञ्जेश्वरी शर्मा मरासीनीको एकैघरभित्र पुरिएर मृत्यु भयो ।
ती दुई घर मध्ये एउटा घरमा पती-पत्नी (माधव र हरिमाया शर्मा) र अर्को घरमा हजुरआमा-नाती (गुञ्जेश्वरी र रोशन शर्मा) बस्दै आएका थिए । उक्त दिन साँझदेखि परेको मुसलधारे पानीले राम्चेभ¥याङ् सामुदायिक बनबाट ठूलो पहिरो झ¥यो । सामुदायिक बनमुनि रहेको स्याङ्दी बस्तीलाई छोप्न थालेपछि स्थानीयबासीद्धारा बस्तीमा रहेका २ घरका ४ जनालाई भोलीपल्ट दिउँसो सुरक्षित स्थान लामाखेतको एक घरमा लगेर राखियो ।
‘बर्मा गए पनि कर्मसँगै’ भने झैं भयो । आफ्नो घरको पहिरोबाट जोगिएर भागेका उनीहरुलाई मृत्युले पछ्याउन छाडेन । सुरक्षित मानिएको स्थानमा गएर बस्दा पनि त्यही पहिरो गई उनीहरुको दुखद मृत्यु हुन पुग्यो । स्याङ्दी माथिबाट झरेको पहिरो र ज्यादी खोलाको बाढीले एउटा घर भत्काए पनि अर्को घर भने सुरक्षित नै राखेको छ । पहिरो पनि निकै ठूलो छ । सिंगो बन लछारेर पहिरो बगेको छ । धेरै धनजनको क्षति पुगेको छ ।
बनमाथिबाट झरेको बाढी सहितको लेदोले स्याङ्दीको एउटा घर छोप्यो र पूरै भत्कायो । तर, अर्को घर भने ठिकै छ । ज्याग्दी खोला किनारमा रहेको सो बस्तीमाथिबाट झरेको पहिरो र खोला किनारबाट आएको बाढीले बस्ती असुरक्षित बनायो । जुनसुकै बेला बगाउन सक्ने देखिएपछि स्थानीयले सुरक्षित ठाउँ भनेर लामाखेत ठह¥याए । उही लगेर राख्ने निर्णय बमोजिम उद्धार गरी उनीहरुलाई उतै राखियो । तर, सोही घरमाथि बाट पनि पहिरो खस्यो । सुरक्षित भनेर राखिएको घर झनै असुरक्षित बन्यो । घरभित्र बसेर खाना खादै गरेका उनीहरु माधव, हरिमाया र गुञ्जेश्वरी माथि पहिरो झ¥यो । उनीहरु एउटै घरभित्र पुरिए, त्यही नै मृत्यु भयो ।
उक्त पहिरोमा बाबुआमा (माधव-हरीमाया) दुवै गुमाएका गोविन्दराज शर्माको पनि समाजसेवी पोख्रेलमार्फत उद्धार गरिएको छ । पोखराको ग्यारेजमा काम गर्दै आएका माधव-हरीमायाको कान्छो छोरा गोविन्द शर्मा मरासिनीलाई पनि उद्धार गरी स्नातक तह पढ्ने व्यवस्था मिलाईएको पोख्रेलले बताए । मासिक ८ हजार रुपैंयामा काम गर्दै आएकोमा शर्मालाई पोख्रेलको पहलमा कलेज पढ्ने व्यवस्था मिलाईएको हो । अर्को जागिर खोजेर पोखराको जनप्रिय क्याम्पसमा पढ्ने व्यवस्था मिलाएको पोख्रेलले बताए ।
उक्त स्थानमा नपत्याउदो ठाउँबाट पहिरो झरेको छ । पहिराले परम्परागत शैलीको गाउँघरे ठूलो घर भत्काएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी केही झिक्न नपाएको घरधनीको भनाई छ । बाढी र पहिरोमा परेर अहिलेसम्म स्याङजामा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
बिरुवा गाउँपालिकाका ३, फेदिखोला गाउँपालिकाका २, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिकाका १ जना र भीरकोट नगरपालिकाका २ जनाको बाढीपहिरोमा परी मृत्यु भएको हो । ससुराली गएका अर्जुनचौपारीका २ जनाको कास्कीमा आएको पहिरोमा परि मृत्यु भएको छ । बिरुवाका ५ र आँधीखोलाका २ जना घाइते छन् । यहाँका भीरकोट, गल्याङ नगरपालिका र आँधीखोला गाउँपालिकाका धेरै बस्तीहरु बढी जोखिममा छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।