०९ कात्तिक , काठमाडौँ – छठ पर्वको मुख्य दिन आज बिहिबार बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । भोली शुक्रबार उदाउदो सुर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुने गर्दछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलवारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन अर्थात आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको बताइएको छ । ‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन अर्थात भोली बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइएको थियो । यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन ।
छठको मूख्य दिन अस्ताउदै गरेको सूर्यलाई अर्घ दिई गहु र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।