२४ कात्तिक , काठमाडौँ – मनाङका मतदाताले पाउने प्रत्यक्षतर्फको मतपत्रमा दुइटा मात्र निर्वाचन चिह्न हुनेछन् । प्रतिनिधिसभा सदस्यको एक सिटका लागि त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका दुई जना उम्मेदवार मात्र प्रतिस्पर्धामा छन् । मतपत्रमा रूख र सूर्य दुइटा मात्र चिह्न छापिएका छन् । निर्वाचन आयोगले उम्मेदवार नभएका दलको चिह्न मतपत्रमा नछाप्ने निर्णय लिएसँगै मतपत्र सरल बनेको हो । त्यसले मतदातालाई चिह्न खोज्ने झन्झटबाट मुक्ति दिनेछ । आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभातर्फका ३७ र प्रदेशसभातर्फका ७४ निर्वाचन क्षेत्रको मतपत्र छापिसकेको छ ।
मनाङ मात्रै होइन, मुस्ताङका मतदाताका हातमा समेत प्रत्यक्षतर्फ दुईवटा मात्र चिह्न छापिएको मतपत्र पर्नेछ । पहिलो चरणमा दुईवटा जिल्लामा प्रतिनिधिसभातर्फ २/२ जनाको मात्रै उम्मेदवारी परेको छ । यसअघि उम्मेदवार नभएका दलको चिह्नसमेत मतपत्रमा छापिनाले मतपत्र ठूलो हुने गरेको थियो । स्थानीय तह निर्वाचनमा मतपत्र ठूलो बनाएको भनेर आयोगको आलोचना भएको थियो । ठूला मतपत्रले मतदान मात्रै होइन, गणनालाई समेत झन्झटिलो बनाएको थियो । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्र मतदातामैत्री बनाउन उम्मेदवारअनुसार चिह्न राखेर मतपत्र छापिएको बताए ।
उम्मेदवारी दर्तापछि मात्रै प्रत्यक्षतर्फको मतपत्र छापिएकाले आयोगलाई मतपत्रमा चिह्न निर्धारण गर्न सहज भएको हो । दलहरूबीचको गठबन्धन तथा एकीकरणले पनि मतपत्र सानो बनाउन मद्दत पुगेको हो । नेपाली कांग्रेसले राप्रपा, राप्रपा (प्रजातान्त्रिक) सहितलाई समेटेर तथा नेकपा एमाले र माओवादी केन्द्रले अन्य वामपन्थी दललाई समेत समेटेर अलगअलग गठबन्धन बनाएका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमको छुट्टै गठबन्धन बनेको छ । गठबन्धनबाट एकएक जना मात्रै उम्मेदवार भएकाले उम्मेदवारको संख्या घटेको हो । विभन्न ६ मधेसी दल एकीकृत भएर राजपाको गठन, लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसमा विलयजस्ता कारण पनि यसपटक उम्मेदवारको संख्या र मतपत्रमा चिह्न घटेको हो ।
पहिलो चरणमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी चिह्न छापिएको मतपत्र दोलखा १ को हो । त्यहाँ १५ जना उम्मेदवार छन् । प्रदेशसभातर्फ २ देखि १७ जना उम्मेदवार छन् । पहिलो चरणको प्रदेशसभाको मतपत्रमध्ये सबैभन्दा ठूलो धादिङ २ को प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रको छ । त्यहाँका मतदाताले प्रदेशसभातर्फ १७ वटा निर्वाचन चिह्न रहेको मतपत्र पाउनेछन् । पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा १० जनाभन्दा कम उम्मेदवार छन् । ११ वटा निर्वाचन क्षेत्रमा मात्रै १० बढी उम्मेदवार छन् । प्रदेशसभातर्फको ७४ निर्वाचन क्षेत्रमध्ये ९ वटामा मात्रै १० बढी उम्मेदवार छन् । निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख सहसचिव दिनेश घिमिरेले उम्मेदवारको संख्याअनुसार चिह्न राखेर मतपत्र छापिएकाले पहिलो चरणको मतपत्र एफोर पानाभन्दा पनि सानो भएको बताए ।
दोस्रो चरणको मतपत्र कात्तिक २० गतेबाट छाप्न थालिएको छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये अधिकांशमा २० भन्दा कम उम्मेदवार छन् । दोस्रो चरणमा ३ देखि ३२ जनासम्म उम्मेदवार छन् । महोत्तरी ३ को प्रदेश ‘ख’ मा भने प्रत्यक्षतर्फ नै ३२ उम्मेदवार छन् ।
आयोगले पहिलो चरणमा तेर्सोमा चारवटा र ठाडोमा पाँचवटा लहर हुने गरी २० वटा चिह्न अट्न सक्ने आकारको मतपत्र डिजाइन गरेको थियो । तर, दोस्रो चरणका केही निर्वाचन क्षेत्रमा उक्त आकारभन्दा ठूला मतपत्र हुनेछन् । आयुक्त दाहालले केही क्षेत्रमा ३० वटा चिह्न अट्ने आकारका मतपत्र तयार गरिने बताए । ३० बढी उम्मेदवार भएका थोरै क्षेत्रमा केही चिह्न थपेर मतपत्र तयार गरिने उनले जानकारी दिए । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ २० जनाभन्दा बढी उम्मेदवार भएका निर्वाचन क्षेत्र १४ छन् । प्रदेशसभातर्फ २० बढी उम्मेदवार हुने क्षेत्रको संख्या पनि सोही हाराहारी छ ।
‘अब तीन आकारका मतपत्र हुनेछन्, २० वटा, ३० वटा र ३० भन्दा बढी मतपत्र अट्ने,’ उनले भने, ‘धेरै चिह्न भएको मतपत्र पनि धेरै ठूलो हुनेछैन ।’ उम्मेदवारी दर्ता र मतदान गर्ने दिनबीच करिब एक महिना समय रहेकाले उम्मेदवार निश्चित भएपछि मतपत्र छाप्न भ्याइएको हो । स्थानीय तहमा अन्तिम उम्मेदवारी प्रकाशन र मतदान हुने दिनबीचको समयावधि एक साताको मात्र हुँदा उम्मेदवारीअघि नै मतपत्र छापिएकाले मतपत्र ठूलो भएको थियो । आयोगले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र एउटै पानामा छाप्ने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले अलगअलग छाप्ने आदेश दिएपछि सोहीअनुसार निर्णय परिवर्तन गरी मतपत्र छापिँदा मतदाताले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको साना आकारका मतपत्र पाउने भएका हुन् ।
समानुपातिकतर्फ ठूलो
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको आकार भने केही ठूलो हुनेछ । समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छापिएको छ । त्यसमाथि दलहरूले बन्दसूची बुझाउनुअगावै मतपत्र छापिएकाले समानुपातिक प्रणालीमा भाग नलिएका दलका चिह्न पनि छापिएका छन् । आयोगले असोज १७ गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्न थालेको थियो जब कि दलहरूले असोज २९ गते मात्रै बन्दसूची बुझाउने समय निर्धारित थियो । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन ८८ दलले भदौ २५ देखि २७ गतेभित्र आयोगमा दल दर्ता गराएका थिए । प्रदेशसभामा भने प्रदेशअनुसार दलको संख्या केही फरक थियो । आयोगले भदौ २९ मा ती दललाई निर्वाचन चिह्न प्रदान गरेको थियो ।
त्यहीअनुसार समानुपातिकतर्फ एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभाका लागि मतपत्र १ भनी ८८ दलको चिह्न छापिएको छ । त्यही पानामा मुनि मतपत्र २ भनी प्रदेशसभातर्फका लागि चिह्न राखिएका छन् । प्रदेशसभातर्फ प्रदेश १ मा ८७, २ र ३ मा ८६, ४ मा ८२, ५ मा ८४, ६ मा ८२ र प्रदेश ७ मा ८३ दलका चिह्न छापिएका छन् जब कि प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभातर्फ ५३ दलले मात्रै बन्दसूची बुझाएका छन् । प्रतिनिधिसभातर्फको मतपत्रमा चुनावमा प्रतिस्पर्धा नगरेका दलका ३९ वटा चिह्न छन् । प्रदेशसभा प्रदेशपिच्छे बन्दसूची बुझाउने दलको संख्या कम छ । प्रदेशसभाको मतपत्रमा सहभागी हुने दलको संख्याभन्दा दोब्बर चिह्न मतपत्रमा छन् ।
चुनावमा भाग लिन्छु भनेर निवेदन दिएका दलले बन्दसूची पेस नगर्दा समानुपातिकतर्फको मतपत्रमा प्रतिस्पर्धी नभएका दलको समेत चिह्न रहन गएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बताए । यो निर्वाचनमा मतदान गर्न मतदान केन्द्र पुगेका मतदाताले तीन थरी मतपत्र पाउनेछन् । ढकालका अनुसार मतदाताले सुरुमा सेतो कागजमा हरियो मसीले छापिएका चिह्न रहेको प्रतिनिधिसभाको र दोस्रोमा सेतो कागजमा कालो मसीले छापिएका चिह्न रहेको प्रदेशसभाको मतपत्र पाउनेछन् । तेस्रोमा सेतो कागजमा रातो मसीले चिह्न छापिएको समानुपातिक प्रणालीतर्फको मतपत्र पाउनेछन् ।
यो खबर आजको कान्तिपुरमा छ ।