बाँके, (नेस) । खजुरा–३, बीगाउँका पदमबहादुर रानाले तरकारी खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । डेढ विगाहमा तरकारी खेती गरेर रानाले वर्षमा आठ लाख बढी आम्दानी गरिरहनु भएको छ । मिहेनत गरेमा गाउँघरमै बसेर राम्रो आम्दानी गर्न सकिने रानाले देखाउनु भएको छ ।
डेढ विगाहमध्ये १२ कठ्ठामा रानाले टमाटर खेती गर्नुहुन्छ । टमाटरबाट उहाँले राम्रो कमाई गरिरहनु भएको छ । ‘वर्षमा ६ लाख बढी त टमाटरबाट कमाइ हुन्छ, रानाले भन्नुभयो, अरु खेतीले राम्रै आम्दनी दिइरहेको छ ।’
पछिल्लो वर्षहरुमा तापक्रम बढ्दा टमाटरलाई सिजनमा निकाल्न नसकेको रानाले बताउनुभयो । दशैंमा टमाटर निकाल्दा राम्रो मूल्य पाउथ्यो । साउन अन्तिम सातामा रोपेर दशैंमा टमाटर निकाल्दा बजार अभाव हुन्थेन भने बढी मूल्यमा बिक्री हुन्थ्यो ।
जलवायु परिवर्तनको असरले गर्दा अहिले साउन अन्तिम साता टमाटर रोप्ने र दशैंमा निकाल्ने काम बन्द भएको छ । तापक्रम बढ्दा अहिले रानाले भदौ अन्तिम या असोजको पहिलो साता टमाटर लगाएर कात्तिक अन्तिम या मंसीरमा निकाल्ने गर्नु भएको छ ।
यतिबेला दशैंमाजस्तो बजार माग र मूल्य राम्रो नहुँदा फाइदा घटेको छ । राना भन्नुहुन्छ, ‘कात्तिक अन्तिम या मंसीरमा टमाटर निकाल्दा बजार मूल्य राम्रो हुँदैन । यो सिजनमा ढाई÷तीन लाखमात्रै फाइदा हुने गरेको छ ।’
पहिला तापक्रम मिल्दा साउनमा रापेर दशैंमा निकाल्दा एउटा बोटमा २० किलोसम्म टमाटर फल्थ्यो । अहिले १२ देखि १५ किलो फल्ने गरेको रानाले बताउनुभयो ।
रानाले वर्षमा पाँच पटकसम्म टमाटर निकाल्नुहुन्छ । एक पटकमा सय क्वीन्टलसम्म निस्किन्छ । बाँकेमा टमाटर दशदेखि सय रुपैयासम्म किलोमा बिक्री हुन्छ । खजुरामा टमाटर उत्पादन गरे पनि बजार भनेको नेपालगञ्ज नै हो ।
नेपालगञ्जमा भारतीय शहरबाट ठूलो मात्रामा टमाटर भित्रिने गर्दछ । ‘भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न हामीलाई गाह्रो भइरहेको छ, रानाले भन्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।