नेपाल समाचारपत्र, चितवन
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक अधिकारको प्रत्याभूत हुनसके देशमा भ्रष्ट्रचार कम हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ चितवन र राष्ट्रिय सूचना आयोगद्वारा संयुक्तरुपमा आज भरतपुरमा आयोजना गरिएको ‘सूचनाको हक कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै बाँस्कोटाले राज्यका हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै त्यसले भ्रष्ट्रचार कम गर्ने बताए ।
उनले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताए । जनताको सूचना पाउने अधिकारलाई बलियो बनाउनका लागि केन्द्रमा रहेको सूचना आयोगको अधिकार कटौती गर्दै त्यसलाई प्रदेश र स्थानीय तहमा प¥याउनुपर्नैमा उनले जोड दिए ।
स्थानीय तहसम्म सूचना आयोगको संरचना बन्दा जनप्रतिनिधिलाई जनताको काम गर्न उत्तरदायी बनाउने बताउँदै उहाँले देशमा अहिले ३० प्रतिशत सरकारी कार्यालयले मात्र सूचना सार्वजनिक गर्ने गरेको जानकारी दिए ।
२ हजार ५ सय सरकारी कार्यालयमध्ये सात सय कार्यालयले मात्रै हरेक तीन/तीन महिनामा सूचना सार्वजनिक गर्ने गरेको उल्लेख गर्दै उनले दश प्रतिशत जनताले मात्रै सूचनाको हकको प्रयोग गरेकाले अब जनतालाई यसबारे सशक्तिकरण गर्नुपर्नेमा जोड दिए । बाँस्कोटाले भने–“हरेक देशका शासक सूचना लुकाएर आफू शक्तिशाली बन्न खोज्छन्, यसले समाजमा कस्तो असर परेको छ, थाहा नहुने हुँदा जनतामा सशक्तिकरण आवश्यक छ ।”
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघ जनताले सूचना पाउनुपर्छ भनेर वकालत गर्ने पहिलो संस्था भएको बताए ।
उनले लोकतन्त्रको अनुभुती प्रत्यक नागरिकसंग पु¥याउन सुचनाको हकले महत्वपूर्ण योगदान दिएको बताए । सूचनाको हक पत्रकारको मात्र होइन हरेक नागरिकको अधिकार हो भन्ने कुरा बुझाउनु पत्रकारको दायित्व भएकोे उनको भनाई छ । पत्रकारितालाई मर्यादित बनाउनका लागी पनि सूचनाको हक प्रयोग गर्न जरुरी रहेमा पोख्रेलले जोड दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा धेरै कुरा सुधार गर्नुपर्ने देखिएकाले सबै कार्यालयलाई ब्यवस्थित गर्द लगिने बताए । उनले अधिकांस कार्यालयमा सूचना अधिकारी तोकिएको भन्दै बाँकी रहेका कार्यालयमा पनि सूचना अधिकारी तोकेर जनताले सूचना पाउने अधिकारको पूर्ण प्रत्याभूत गराईने बताए ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सूचना पाउने अधिकार सबै नागरिकको भएको भन्दै यो अधिकार कसैले रोक्न नसक्ने बताए । सूचना लुकाउनु अपराध भएको भन्दै आचार्यले हरेक जनताले सूचनाको हक प्रयोग गर्न पाउने बताए ।
पत्रकार महासंघका पूर्व अध्यक्ष जनक अर्यालले सरकार नै सूचनाको हकप्रति संबेदनशील नरहेको आरोप लगाए । उनले जिल्लामा रहेका सरकारी कार्यालयले नागरिकलाई आबश्यक पर्ने सूचना दिन समेत आलटाल गर्ने गरेको बताए । “उहाँले भने,जबसम्म सूचनाको हक पूर्ण रुपमा कार्यान्वयन हुँँदैन तबसम्म सुशासन युक्त र भष्ट्रचार मुक्त समाजको परिकल्पना गर्न सक्दैनौं ।”
प्रेस चौतारीका केन्द्रिय सदस्य शिशिर सिंखडाले चितवनमा अझैपनि पत्रकारले सहज रुपमा सूचना पाउने अवस्था नरहेको भन्दै नगरिक झन् यसबाट टाढा रहेको बताए । उहाँले सूचना लुकाउने कार्यालयको झन् खोजी खोजी समाचार लेख्न पत्रकारलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सूचना लुकाउने प्रवृत्ति अहिले पनि रहेको भन्दै पत्रकार चनाखो बन्नुपर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।