ईश्वरराज ढकाल, काठमाडौँ, । असोज महिनाभित्र श्रीपेच प्रदर्शनीमा राख्ने सुझाव सहित प्रतिवेदन बुझाइएको छ । संस्कृति मन्त्रालयद्धारा गठित समितिले हिजो शुक्रबार सचिव कृष्णप्रसाद देवकोटा समक्ष प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा श्रीपेच प्रदर्शनमा राख्न बजेट माग गरिएको छ । समितिका संयोजक एवं पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले डिभाइस सहितका अन्य यन्त्र राख्न करिब ४४ लाख रुपिया माग गरिएको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो–अबको तीन महिनाभित्र श्रीपेच प्रदर्शनीमा राख्न करारमा केही कर्मचारी माग गरेका छौ, डिभाइस खरिद गर्न रकम माग गरेका हौ । सो समितिले प्रतिवेदन बुझाए लगत्तै करिब चार वर्षदेखि सैलुन कक्षमा राखिएको श्रीपेच खोलेर हेर्ने, सुरक्षाको व्यवस्था गर्ने नेपाली सेनासंग छलफल गर्नेछ । २०७१ सालमा श्रीपेचको अवस्थाबारे जानकारी लिइएको थियो । हाल श्रीपेच सेनाको कडा सुरक्षा घेराभित्र स्टिलको दराजभित्र राखिएको छ । करिब तीन साता अघि महानिर्देशक दाहालको संयोजकत्वमा जगमान गुरुङ, डा. मदनकुमार रिमाल, संस्कृति मन्त्रालयका उपसचिव दुर्गा भुर्तेल र नारायणहिटी संग्रहालय प्रमुख रोहितकुमार ढुंगाना सदस्य सचिव रहनेगरी समिति गठन गरेको थियो ।
समितिका सदस्य सचिव ढुंगानाले प्रतिवेदनमा श्रीपेच प्रदर्शनीमा राख्न आर्थिक र प्राविधिक पक्षको बारेमा विवरण तयार गरिएको जानकारी दिनुभयो । उहाले सुर्खेत र रुपन्देकी कक्षमा श्रीेपेच, राजदण्ड लगायत अति महन्वपुर्ण सामाग्री राख्न सोकेस तयार गरिसकेको अवस्थामा केही प्राविधिक कारणले राख्न नसकिएको जानकारी दिनुभयो । पुर्वराजा ज्ञानेन्द्रले ०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेच लगाय महत्वपुर्ण सामाग्री कडा सुरक्षा घेराभित्र राखिएको थियो ।
ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नु अघि हाम्रा पिता पुर्खाको विरासतको रुपमा रहेको श्रीपेचलाई सदाको लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गर्नुभएको थियो । तर नारायणहिटी दरवार छाडेको एक दशक बितिसक्दा पनि सरकारले श्रीपेच प्रदर्शनीमा राख्न सकेको थिएन । २०६८ सालमा करिब १ करोड ५० लाख रुपियाको लागतमा संग्रहालयले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच सहितको समाग्री राख्न दुई वटा बुलेटप्रुफ सोकेस बनाएको थियो । शैलुन कक्षको स्टिलको सोकेशभित्र थन्किएको श्रीपेच लगायत राजपरिवारका सामाग्री राख्न प्राविधिक कारण देखाउदै उक्त सोकेसमा हालसम्म श्रीपेच राख्न सकेको थिएन ।
सोकेस तयार भए लगत्तै नेपाली सेनाले बुलेटप्रुफ सिसा परीक्षण समेत गरिसकेको अवस्थामा सुरक्षाको कारण देखाउदै श्रीपेच देखाउन नसकिनु सरकारकै कमजोरी हो । संग्रहालयले श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल तरवार, रानीले लगाउने मुकुट(टायरा), एउटा झारी, र दुई वटा चमर राख्नको लागि सोकेस तयारी गरेको थियो ।
अब पक्कापक्की रुपमै श्रीपेच प्रदर्शनीमा राखिने छ–संयोजक दाहालले भन्नुभयो । एक महिना अघि संस्कृति मन्त्री रविन्द्र अधिकारी, सवि देवकोटा, विभागमा महानिर्देशक दाहाल सहित विज्ञ टोलीले नारायणहिटी दरबारमा राखिएको श्रीपेच राख्ने स्थानको अवलोकन गरी तत्काल श्रीपेच राख्न निर्देशन दिएको थियो । त्यसैदिन संग्रहालयको गुरुयोजना तयार गर्न र श्रीपेच प्रदर्शनीमा राख्न समिति गठन गरिएको थियो । ल्याटिन अमेरिकाको एक दुर्लभ चराको प्वाखको कल्कीबाट बनेको श्रीपेचमा सुन, चाँदी, हिरा,मोती, पन्ना जडित दुर्लभ र बहुमल्य छ ।
सरकारले राजपरिवारका सम्पत्तीलाई संरक्षण गरी विशाल संग्रहालय बनाउने परिकल्पना सहित तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइरालाले २०६५असार २ गते नारायणहिटी संग्रहालय बनाउने घोषणा गर्नुभएको थियो । त्यस लगत्तै फागुन १५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्रहालयको उद्घाटन गर्नुभएको थियो । २०६५ फागुन १६ गते सर्वसाधारणका लगि खुला गरिएको नारायणहिटी संग्रहालयमा रहेको श्रीपेच हेर्न सबै सर्वसाधारण आतुर छन् ।
शिलबन्दी गरी राखिएको सो श्रीपेच तत्कालिन रक्षा सचिव बामनप्रसाद न्यौपाने, तत्कालिन गृह सचिव उमेश मैनाली, सामान्य प्रशासन सचिव गोविन्द कुसुम, तत्कालिन दरवारका सम्पत्तीकोष विभाग प्रमुख एवं राजप्रसाद सेवाका सचिव प्रदीपकुमार अर्याल र पुर्व राजाका पुरोहित शेखर ढुङ्गाना, सहायक रथी श्यामबहादुर थापा तथा संग्रहालयका शाखा अधिकृत भुवनबहादुर कार्कीको उपस्थितिमा मुचुल्का उठाइ श्रीपेचलाई सोकेशमा थन्क्याइएको थियो । श्रीपेच राखिएको सेफभित्र १३ वटा शिल लगाइएको छ । नेपाली सेनाको २४ घण्टे सुरक्षा घेराभित्र राखिएको कोठाको मुल ढोकामा गृहमन्त्रालय लेखिएको १० वटा शिल छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।