माधव अधिकारी
कावासोती ।
युवा भनेको देशको मेरुदण्ड हो। देश विकासका लागि युवाको भुमिका महत्वपूर्ण रहन्छ । त्यसैले होला युवालाई देशको उर्जाशिल कर्णधारको उपमा पनि दिने गरिन्छ । घरका बुढा बा आमाले छोराछोरी बुढेसकालको साहारा हुन भनेजस्तै जननीले पनि आफ्ना सन्ततिहरुको साथ चाहिरहेको हुन्छ ।
तर नेपाल यस्तो देश हो जहाँ युवाहरु कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने सोच राख्छन् र एक हिसाबले यो उसको बाध्यता पनि बनिरहेको हुन्छ । एउटा युवा १० सम्मको पढाई पछि तराई झर्छ अथवा राजधानि लगायत अन्य सहरी क्षेत्रको प्रतिष्ठीत कलेजबाट आफ्नो अध्ययन पुरा गर्छ । उसको आर्थिक स्थीति पनि दरिलो हुँदैन तै पनि उ राम्रै कलेजमा पढेको हुन्छ र अन्तत राम्रै रिजल्ट पनि आउछ । घरपरिवारको अनगिन्ती सपनाहरु साकार बनाउने जीम्बेवारी उसले बोकेको हुन्छ । तर जतिनै राम्रो रिजल्ट ल्याए पनि एक त उसले आफ्नो पढाइ अनुसारको जागिर नै पाउदैन र अर्कोतिर उसको जागिरबाट आएको आम्दानिले घरपरिवारको त कुरै छाडौ उसको आफ्नै आवश्यकता पनि पुरा हुन पाउदैन । अन्तत विदेशी भुमितर्फ दगुर्नु पर्छ । हो यहि हो नेपालको सत्यता । अनि नेपाली युवाहरुको पिडा ।
यसो भन्दैमा नेपालमा युवाहरुले केही गरेका छैनन् र केह गर्न पाउदैनन भन्ने होइन तर अधिकांश युवाहरु जो गरिब परिवारका छन्, जसको परिवार चल्न उहि युवाहरु प्रति निर्भर छ तिनिहरुको पिडा भने यहि हो कि उनीहरु राम्रै पढेर पनि विदेश जानुपर्छ । देवचुली ११ का सन्तोष सापकोटाको कुरा पनि यस्तै छ । देशको भविष्य एकातिर छ आफ्नो क्यारियर एकातिर छ, देशले युवाका लागि पर्याप्त अवसरहरु दिन्थ्यो भने सायद देशका लागि पनि केही गर्ने सामथ्र्य युवामा हुन्थ्यो होला , उनि भन्छन् ‘राम्रो अवसर नपाउदा पढ्दै गर्दा गरेको सङ्घर्ष सम्झीदा आजित हुन्छन् र विदेश जान बाध्य हुन्छन् युवा’ ।
समाजमा अझैपनि राम्रो भन्दा पनि हाम्रोलाई हेर्ने प्रवृति हावि छ । पढेर जागिर खान्छु र परिवार पाल्छु भन्ने युवाहरुका लागि स्वदेशमा बाच्न धेरै गारो छ । उत्कृष्ट नतिजा पा्रप्त गरिसकेपछि पनि पार्टि अथवा संगठन नमील्दा धेरै युवाहरु पछाडी धकेलीन परेको तितो यथार्थ व्यक्त गर्छन् पुनः सापकोटा । उनी भन्छन् ‘संगठन नमिल्दा एउटा युवा आफ्नो योग्यता अनुरुपको कामका लागि कति गल्ली धाउँछ, कतिलाई चाकरी गर्छ तर उ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउँछ त्यो हो बिदेश पलायन’ ।
देवचुली १० का अर्का युवा तिलक भुषालको दुखेसो पनि त्यस्तै छ । सर्टिफिकेटको आधारमा रिण दिने कुरा पनि हल्ला मा नै सिमित हुने भो, उनी भन्छन् ‘युवाले सुरु गरेको व्यवसायमा सरकारले कुनै पनि उत्ततरदायीत्व वहन गर्दैन । व्यवसायबाट मनग्य मुनाफा कमाउने त कुरै छाडौ सरकारले कुनैपनि किसिमको सुरक्षण सेवा नदिदा व्यवसाय डुब्ने डरले युवाहरु बिदेशिन्छन् ।’
हुनेखाने र आर्थिक तवरले सक्षम जो छन् तिनिहरुका लागि खासै गारो छैन । देशमै नबसे पनि टन्न लगानि गरेर अमिरीका, लन्डन अनि अस्टेलिया जाने सोच उनीहरुमा हुन्छ । तर जो गरिब परिवारको छ संघर्षशिल पढाइबाट हैरान भएको छ उनीहरुको बाटो एउटै हुन्छ गए त्यहि खाडि मुलुक नगए त्यहि खाडि मुलुक । दैनिक देशबाट १४ देखि १६ सय युवाहरु रोजगारीकै लागि पलायन भैरहेको तथ्याङ्क छ, जुन निकै नै हृदयबिदारक र कारुणीक छ । यो तथ्याकंलाई नियाल्दा नेपाली भएर जन्मिसकेपछि विदेश जानैपर्छ अन्यथा विहान बेलुका छाक टार्न पनि धौधौ हुने पुन ः भुषाल बताउछन् ।
यो बिषयमा नेपाल सरकारले धेरै वकालत अनि चर्का चर्का भाषण गर्छ कि हामी फ्रि भिसा फ्रि टिकट लागु गर्छौ, एक घर एक रोजगारको व्यवस्था गर्छौ, सर्टिफिकेटको आधारमा रिण दिन्छौ, दक्ष जनशक्तिलाई स्वदेशमै उपभोग गर्छौ आदि आदि । तर यी कुनैपनि कुराहरु प्रभावकारी रुपमा लागु हुन सकिरहेका छैनन्, खालि भाषणमा मात्र सिमित छन् ।
त्यसैले देशको विकास गर्नु छ भने रोजगारी महत्वपुर्ण पाटो हो । खेर र्गरहेको जनशक्तिर्ला स्वदेशमै परिचालन गरेर उत्पादनमुखी र सिर्जनशिल कार्यमा समय खर्चने हो भने देश विकास हुन बेरै लाग्दैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।