नवलपरासी ।
दुई दशक अघि ३० वर्षको कलकलाउँदो युवा उमेरमा अल्सर लगायत ७ ओटा रोगले थलिएका हरि प्रसाद सापकोटा प्राकृतिक चिकित्साबाट आफूले जादुमयी उपचार पाएको बताउँछन् । उनलाई स्टाेमेक अल्सर,टन्सिल फेनेन्जाईटिस,पिनास,लाेब्लड प्रेसर,सेभियर कन्स्टिपेसन र एन्जाईटीका कारण डिप्रेसन सम्मका रोगले गालेको थियो ।

यी र यीनै राेग निदानका लागि सापकोटा एलाेपेथि,आयुर्वेदिक, हाेमियाेपेथी र युनानी सम्मका दर्जनाै अस्पताल र क्लिनिक चाहार्दा पनि राेग निकाे नभएपछि जीवनकाे अन्त्य र मृत्युकाे प्रतिक्षामा पुगेको उनी बताउँछन् । तै पनि सापकोटाले अस्पताल धाउने यात्रालाई जारी राख्दै बिकल्पका रूपमा अन्य उपचारकाे खाेजीमा भारत पुगेको र महिनाै महिना सम्मको उपचार र बसाईमा पनि राेग कम नभएपछि निरास हुँदै घर फर्केको सापकोटा सुनाउछन् ।
सापकोटाले भने, ‘बाच्ने इच्छा त्यति बेला अझ सशक्त हुँदो रहेछ जब मानिस जीर्ण र असाध्य रोगबाट ग्रसित हुन्छ’ । त्यही बाच्ने इच्छा र हुटहुटीले आफू कास्कीको पोखरा पुगेको ३ महिनामै नेचुराेपेथीकाे जादुमयी उपचारले पूर्ण स्वास्थ्य भएपछि सोही संस्थामा ३ वर्ष स्वयंसेवा गरी घर फर्केको सापकोटाले बताए ।
स्वदेशमै प्राकृतिक उपचारले जीवनदान पाए पछि जन्मथलाे रजहर फर्केका सापकोटाले समाजलाई साे विषयमा जागरूक र सन्तुलित गराउँदै सामाजिक अभियन्ताका रूपमा निरन्तर लागि रहेको स्थानीयहरू बताउँछन् ।

राेग,आत्मबल र उपचारलाई आफ्नो जीवन भोगाइ बनाउँदै प्रकृति चिकित्साकै विकास, संवर्द्धन र बिरामीका सेवामा बिताउने सापकोटा, स्थापनाकालमा ५२ शय्याबाट सुरु गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय जहरका एक कुशल व्यवस्थापक हुन् ।
जनस्तरमा धनधान्याचल गरी पूर्वी नवलपरासीकाे मध्य भाग देवचुली १६ मा २०६४ सालमा स्थापना भएकाे सामुदायिक प्राकृतिक चिकित्सालय र जहर देशकै नमुना नेचुराेपेथी अस्पताल हाे । यहीको कालिका सामुदायिक वनकाे १० बिगहा जमिन भाेगाधिकार लिई पूर्व पश्चिम राजमार्गकाे करिब १ किलोमिटर दक्षिणमा अवस्थित प्राकृतिक चिकित्सालय सुविधा सम्पन्न भवनहरूका साथ पर्याप्त खुला मैदानमा फैलिएकोछ ।
यस अतिरिक्त बिषयबिज्ञ चिकित्सक, चिकित्सक क्वाटर,ल्याव,प्याथालाेजी युनिट,अडिटरियम, छात्राबास, र निर्माणाधिन थप आधुनिक उपचार भवन यहाँ रहेका छन् ।
मुलुकमै एउटा पनि सरकारी नेचुराेपेथी अस्पताल नभएको अवस्थामा आवश्यक परे १५ बिगाहा सम्म अतिरिक्त जग्गाकाे व्यवस्था हुने यस संस्थालाई प्राकृतिक चिकित्सालय शिक्षण अस्पतालका रूपमा विकास गर्न प्रस्ताव पत्रसहित स्थानीयले माग गरेका छन् ।

झन्डै ३ सय शय्या रहेको यस अस्पतालको पूर्वाधारलाई बढाउँदै विद्यार्थीलाई अध्ययन अध्यापन गराउने प्राकृतिक चिकित्सा शिक्षण अस्पताल, रिसर्च सेन्टर,ज्येष्ठ नागरिक आरोग्य आश्रम या आयुर्विज्ञान विश्वविद्यालयकै रूपमा संचालन गर्न सबै कुराले याे संस्था उपयुक्त देखिएको जानकारहरू बताउँछन् ।
यस संस्थालाई देशव्यापी याेग र प्राकृतिक चिकित्साकाे महत्त्वलाई उजागर गर्ने थलाेका रूपमा विकास गर्न वर्तमानमा राज्यका तीनै तहले नीतिगत निर्णय लिन हालै एक अन्तरक्रिया कार्यक्रम गरी बिज्ञहरूले सुझाव दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।