
हेटौंडा ।
युवामा रहेको सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई मूर्तरुप दिन प्रदेश युवा परिषद् बागमती र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ ।
नयाँ विचारलाई प्रोत्साहन गर्दै युवा स्टार्टअपहरुलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम निरन्तर सञ्चालन हुने आयोजकहरुले बताएका छन् । उक्त कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. यम सिलवाल र प्रदेश युवा परिषद् बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईंबीच समझदारीपत्र आदानप्रदान गरिएको छ ।
कार्यक्रमअन्तर्गत नवप्रवर्तनशील सोचलाई व्यवसायमा रुपान्तरण गर्दै उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । विभिन्न चरणमा छनौट गरिने युवा नवप्रवर्तकहरुलाई स्टार्टअप इन्क्युबेटरमार्फत सहजीकरण गरिनुका साथै व्यावसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन र डिजिटल मार्केटिङसम्बन्धि ज्ञान प्रदान गरिनेछ ।
नयाँ विचारयुक्त स्टार्टअपहरुको पहिचान गरी तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग तथा पूर्वाधार उपलब्ध गराइने आयोजक संस्थाहरुले जनाएका छन् । लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गर्दै युवा व्यवसायीलाई वित्तीय स्रोत जुटाउन सहायता पु¥याउने योजना बनाइएको छ भने स्टार्टअप एक्स्पो, इनोभेसन समिट तथा उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।
परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईंका अनुसार देशको आर्थिक वृद्धिमा योगदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले नवीन सोचलाई व्यावसायिक सफलता दिलाउने मात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मद्दत गर्नेछ । प्रतिभावान युवालाई स्वदेशमा अवसर प्रदान गर्दै ब्रेनड्रेन न्यूनीकरणमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
‘ब्रेनड्रेन उच्च क्षमता, योग्यता र दक्षता भएका व्यक्तिहरु मुलुकबाट पलायन हुनु हो । आफ्नो मुलुकभन्दा अर्को मुलुकमा काम गर्ने र नतिजा हासिल हुने अवसरको खोजीमा ब्रेनड्रेन हुने गर्छ,’ चौलागाईं भन्छन –यस्ता उच्च विज्ञता हासिल गरेका व्यक्तिले आफ्नो मुलुकको तुलनामा उपयुक्त वातावरण र आकर्षक सुविधा पाउने मुलुकमा आफूलाई पु¥याउँछन् । मुलुकका यस्ता निधिहरू स्वदेश फर्किने उपयुक्त मौका र प्याकेजको पर्खाइमा रहेका हुन सक्छन्, जुन हामी मिलेर उपलब्ध गराउने प्रयास गर्नेछौं ।
उनले यस अवस्थामा प्रदेशको दीर्घकालीन दुरदृष्टि तयार गरी एकता र समान विकासको मार्गमा डो¥याउन एउटा थिंक ट्यांकरुपी योजना आवश्यक पर्ने भन्दै जसअनुसार प्रतिभा पलायन फर्काउने पहिलो विकल्पअनुसार विभिन्न ‘थिमेटिक ग्रुप’ गठन गर्न सकिने बताए । ‘विज्ञहरुको पुल बनाइ प्रदेश सरकारसँग समन्वय गरी निश्चित अवधिका लागि उनीहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा पठाउन सकिनेछ । यस्तो समूह गठन गर्दा प्रदेशले तत्काल आवश्यकता महसुस गरेको क्षेत्र वा विज्ञले योगदान गर्न सक्ने विज्ञताको क्षेत्रमा समूह गठन गरी बाहिरिएका उच्च क्षमता भएका व्यक्तिलाई आकर्षक तलब र उचित सम्मान दिएर भित्र्याउन सकिन्छ ।
कार्यक्रमअन्तर्गत नवप्रवर्तक तथा स्टार्टअपहरुलाई वित्तीय सहायता र लगानीको व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइने छन् । प्रतिस्पर्धीरुपमा अनुदान वा वीउ पुँजी उपलब्ध गराइने, स्टार्टअपलाई लगानीकर्तासँग जोड्ने अवसर प्रदान गरिने, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी उद्यमशील युवा स्टार्टअपलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइने, स्टार्टअप व्यवसाय दर्ता, कर व्यवस्थापन तथा लगानीका स्रोत पहिचानका लागि परामर्श, उद्यमशील युवालाई स्टार्टअप प्रवर्द्धनका लागि जोखिम पुँजीको पहुँच उपलब्ध गराइने तथा नवप्रवर्तनशील स्टार्टअपहरुलाई अनुदान वा सहुलियतपूर्ण वित्तीय सहायता प्रदान गरिने योजना रहेको उनले उल्लेख गरे ।
कार्यक्रमअन्तर्गत नवप्रवर्तनशील विचारहरु संकलन तथा छनौटका लागि अनलाइन आवेदन फाराम उपलब्ध गराइनेछ । प्रारम्भिक छनौट समिति गठन गरी नयाँ विचार मूल्यांकन गरिनेछ भने अनुभवी उद्यमी, विज्ञ तथा अनुसन्धानकर्ताको संलग्नता सुनिश्चित गरिनेछ । ह्याकाथन, पिचिङ कम्पिटिसन वा आइडिया च्यालेञ्ज जस्ता कार्यक्रम सञ्चालन गरी छनौट गरिएका स्टार्टअपहरुलाई आवश्यक प्रविधि तथा स्रोतसाधन उपलब्ध गराइनेछ र व्यावसायिक मोडेल विकासका लागि सहजीकरण गरिनेछ ।
आयोजकहरुका अनुसार नयाँ विचार, प्रविधि र वित्तीय पहुँच प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्न केन्द्रित कार्यक्रमले युवा उद्यमशीलताको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ । समझदारीपत्र आदानप्रदान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अनन्त पौडल, क्याम्पस निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषद् कार्यालय प्रमुख रमेश घिमिरे र स्ववियु सभापति प्रसिद्ध रेग्मीलगायतको उपस्थिति थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।