
बसुन्धारामा एउटा कार्यक्रममा सहभागी थिएँ । संयोग कस्तो थियो भने त्यहाँ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाहेक त्यहाँ नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्री, सांसद, राजनीतिक नियुक्तिलगायतका प्राय: व्यक्ति थिए । प्रधानमन्त्री त्यतिबेला विदेशमा हुनुहुन्थ्यो ।
वर्तमान राष्ट्रपतिले कार्यक्रमको सभापतिको हैसियतमा उद्घाटन सत्रको समापन गर्न बोल्न शुरु गर्दा हल बेस्सरी हेल्लियो । दियालो पार्टी प्यालेसको हलमा भागभाग मच्चियो । म ढोकैको कुर्सीमा बसेको थिएँ । तथापि, स्लाइडवाला ढोका आफैं बन्द हुँदा खोल्न केही समय लाग्यो ।
बल्लतल्ल बाहिर निस्कियौं । एकछिन कोलाहल भयो । दुई चार जना महिला माननीयज्युहरु चिच्याएको आवाज सुनेको थिएँ । ढोका खोल्न जोस्सिएको मलाई पछाडिबाट क कस्ले बेस्सरी अठ्याए, थाहा भएन पछि केही दुखेको थियो । घरमा खाना खाएर मंगलबजारमा आयोजित खाना महोत्सवमा सपरिवार घुम्न जाने मेरो तयारी थियो । त्यसैले म कार्यक्रमबाट निस्किँनै लागेको थिएँ । तर, कांग्रेसका वर्तमान महामन्त्री गगन थापाले तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले कांग्रेस सरकारका आर्थिक उपलब्धिका विषयमा दिएको प्रस्तुतिमा खरो टिप्पणीसहित केही प्रश्न गर्नुभएको थियो ।
उहाँले केही टिपोट मेरो डायरीमा टिप्नु भएको थियो । त्यो व्यवस्थापन गर्नुपर्ने भएकाले म रोकिएको थिएँ । अचानक भँइचालो गयो । त्यहाँबाटै क्षतिको प्राम्भिक जानकारी पाइयो । शक्तिशाली भूकम्प गएको र धेरै धनजनको क्षति भएको खबर आयो । घरमा फोन सम्पर्क नहुँदा तनाव धेरै नै भयो । करिब साढे १ बजेतिर पुतलीसडकमा बल्लतल्ल परिवारसँगको भेटघाटले खुशी तुल्यायो । यद्यपि, तीन दिनसम्म पाकेको अन्न खान नपाएर फलफूल र चाउचाउ बिस्कुट खाँदाको अनुभूति फरक छ । शुक्रबार राति अफिसबाट ढिला घर फर्किएकोले खासै खाना खाइन, शनिबार विहानै कार्यक्रममा गएको थिएँ ।
भुँइचालोले भागदौड भइहाल्यो । घरमा खाना त पाकेको थियो । तर, निरन्तरको पराकम्पनले घरभित्र पस्ने आँट आएन। ३ वर्षकि छोरीलाई प्रज्ञाप्रतिष्ठानको खुल्ला चौरमा जाउलोको व्यवस्था गर्न गाह्रो भयो । भुँइचालोले नेपाल समाचारपत्र दैनिकको कार्यालयमा क्षति पुर्याएकाले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको चौरमा टेन्ट गाडेर बनाइएको अफिसमा बसेर कम्पुटरमा काम गर्दा लामखुट्टेको आक्रमण रोचक थियो ।
शुरुका दिन अन्योल, अत्यास र त्रसित भए पनि परिवार आफन्तजनको सकुशलता र धनजनको क्षति नभएको हुँदा मन हलुका नै थियोे । चौरको बसाइँ पनि रोचक नै थियो । केही दिन अफिस बन्द भएको हुँदा बिन्दास भइयो । पछि भद्रकालीबाट अफिस भैसेपाटी स्थान्तरण गरेपछि दैनिकी केही फरक र नियमिततामा आकस्मिकताजस्तै भयो । तर, वैशाखको हुरीबतासले अफिसको टेन्ट र घरको टेन्ट सम्हाल्नै गाह्रो हुने । एकपटक हावाले अफिसको आइम्याक कम्प्युटर नै उडाइदियो । हामी साथीभाइ हेरेको हेर्यै भयौ ।
संयोगवश अफिसका साथीभाइ र परिवार एवम् आफन्तजनमा अप्रिय घटना नभएको भएकाले देशभर पीडा र त्रासदीका बीच पनि हामी कम प्रभावित थियौं । यद्यपि, भूकम्पको त्रासले भने धेरैपछिसम्म त्रर्साइ रह्यो । मैले मेरो जीवनमा ९ चार दशकको अविधमा० व्यवस्था परिवर्तनका दुई ठूला जनआन्दोलन, जनयुद्ध, महाभूकम्प, दुई वटा नाकाबन्दी, कोरोना महामारी, बाढीपहिरो जस्ता आपत विपत् देखेँ । यस अर्थमा म र मेरो पुस्ता भाग्यमानी कि अभागी !
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।