
उदयपुर ।
पटक पटक बन्द हुँदै सञ्चालन हुँदै आएको उदयपुर सिमेन्ट उद्योगले केही समय अघि पूर्ण रूपमा बन्द भएको घोषणा गरेपनि बिहीबारदेखि मौज्दात श्रोत साधनका भरमा गैँडा छाप सिमेन्ट उत्पादन प्रारम्भ गरेको छ ।
२०४४ सालमा जापान सरकारको सहयोगमा उदयपुरको जलजलेमा स्थापना भै २०४९ सालदेखि गैंडाछाप सिमेन्ट उत्पादन सुरु गरेको उदयपुर सिमेन्ट उद्योग तीन वर्ष देखि आर्थिक संकटमा परेको छ । खास गरी सिमेन्ट उत्पादनकालागि आवश्यक पर्ने कोइलाको रकम भुक्तानी गर्न नसक्दा, नेपाल विद्युत् प्राधिकरणको बाँकी विद्युत् महसुल, अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा समयमा बुझाउन नसक्दा, ६ महिनादेखि कर्मचारीको तलब नपाउँदा लगायतका अन्य कारणले आर्थिक संकटमा परेपछि सिमेन्ट उत्पादन बन्द गर्न बाध्य भएको हो ।
उदयपुर सिमेन्ट उद्योगका सूचना अधिकारी देवनारायण चौधरीले दिएको जानकारी अनुसार बिहीबारदेखि गैँडा छाप सिमेन्ट उत्पादन सुरु गरिएको छ । भण्डारणमा रहेको मौज्दात कोइलाले जति दिन भ्याउँछ त्यति समय उत्पादन हुन्छ र पछि थप कोइला मगाएर उत्पादनको कामलाई निरन्तरता दिने योजना रहेको सूचना अधिकारी चौधरीले नेपाल समाचारपत्रलाई बताए ।
सिमेन्ट उद्योगलाई कोइला उपलब्ध गराउँदै आएका दुई कम्पनिले रकम भुक्तानी पाउन ललितपुर र काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गराएपछि कानुनी समस्यामा परेको उदयपुर सिमेन्ट उद्योगलाई कोइला सप्लायर्स कम्पनिलाई रकम भुक्तनी गर्न समस्या भएको बताइएको छ ।
दैनिक ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भएपनि हाल करिब ४ सय मेट्रिकटन उत्पादन क्षमतामामात्र उद्योग संचालनमा रहेको छ । अब केही दिन उद्योगलाई आवश्यक पर्ने क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादनको काम पनि विद्यूत नियमित आपूर्ति भएमा र भण्डारणमा रहेको १ हजार टन कोइलाले भ्याएसम्म उत्पादन हुन्छ । दैनिक सयटन कोइला खपत हुने गरेको जानकारी दिंदै सूचना अधिकारी चौधरीले सिमेन्ट उद्योग संचालनकालागि आन्तरिक रूपमा व्यवस्थापनको काम भइरहेको र प्रशासनिक तथा प्राविधिक पक्षको सहयोगमा हावश्यक अन्य काम हुने बताए ।
गत मंसिर महिनामा बन्द भएको उदयपुर सिमेन्ट उद्योग राजनीतिक नियुक्तिका कारणले समस्यामा पर्दै आएको छ भने गत असार महिनादेखि उद्योगमा अध्यक्षको र करिब डेढ वर्षदखि महाप्रबन्धकको पद रिक्त छ भने निमित्त महाप्रबन्धकका भरमा उद्योग संचालनमा रहेको छ । केही कानुनी समस्या र कर्मचारीहरुले गर्ने विभिन्न प्रकारका अवरोधका विचमा पनि उद्योगलाई संचालनमा ल्याउने प्रयास गरिएको उद्योगभित्रबाट एक श्रोतले बताएकोछ ।
उद्योगको मेसिन उपकरणहरु सबै चालु अवस्थामा रहेकोले पहिले क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादनको प्रक्रियामा जाने र एकसाता बढी समयकालागि चाहिने इनधन कोइला र डिजल भण्डारमा मौज्दात रहेकोले हाल उत्पादित सिमेन्ट बजारमा लगेरत्यसबाट प्राप्त रकमले आगामी दिनका लागि आवश्यक पर्ने कोइला र डिजल खरिद गरेर उद्योग संचालनमा ल्याउन प्रयास गरिने चौधरीले बताए ।
सिमेन्ट उद्योगका प्रशासन तर्फका गम्भिरजंग खत्रीका अनुसार उद्योगबाट तीन वर्षदेखि अवकाश पाएका करिब १ सय १० जना सेवा निवृत्त कर्मचारीहरुलाई उनीहरुले नियमानुसार पाउने सेवा सुविधा पद अनुसारको करिब ६० करोड रहेको छ । दुई जनाको त बिरामी भएर उपचार गर्दा गर्दैको अवस्थामा मृत्यु समेत भएको छ तर पनि पाउनु पर्ने सेवा सुविधा नपाएको उनले बताए ।
प्रत्येक महिना सरदर ३ जनाका दरले अवकाश पाउने गरेको जानकारी दिंदै खत्रीले अवकाश पाउने कर्मचारीको संख्या वढ्दै गएपछि दिनु पर्ने सुविधा पनि थपिँदै जाने हुन्छ । अर्को तर्फ २०८० मंसिर महिनादेखि कर्मचारीहरुले तलब पनि खान नपाएको गुनासो उनले पोखेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।