१८ पुस, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रदान गर्दै आएको अनुदान र ऋण दुवैमा रोक लगाउने चेतावनी दिएको छ ।
चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन्तोषजनक काम नगरेको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एडीबीले ऋण र अनुदान रोक्ने चेतावनीयुक्त पत्र लेखेको हो । डिसेम्बरसम्म भएका कामको मात्र भुक्तानी दिने र त्यसपछिको रकम रोक्ने एडीबीको पत्रमा उल्लेख छ ।
सन् २०१८ मा उक्त विमानस्थलको ८० प्रतिशत काम सक्ने सरकारी लक्ष्य छ । तर, चिनियाँ कम्पनीले राम्रोसँग काम अगाडि नबढाएका कारण हालसम्म २८ प्रतिशत मात्रै काम भएको छ ।
डिसेम्बर २०१७ सम्ममा काम सक्ने शुरुको लक्ष्य थियो । चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण एक वर्ष पछाडि धकेलिएको हो । अहिलेकै गति कायम रहे आगामी एक वर्षमा पनि काम सकिने लक्षण छैन ।
चिनियाँ कम्पनी एडीबीको कालोसूचीमा
उक्त चिनियाँ कम्पनी एडीबीको कालोसूचीमा छ । अगस्ट २०१५ मै उक्त कम्पनी कालोसूचीमा परेको हो । तर, जनवरी २०१५ मै उक्त कम्पनीले भैरहवा विमानस्थल निर्माणको जिम्मा पाएको थियो ।
भैरहवा विमानस्थल जिम्मा दिने सरकारी प्रस्तावमा एडीबीको पनि स्वीकृति थियो ।
सुडानको एक आयोजना कार्यान्वयनका क्रममा उक्त कम्पनीले गलत कागजात पेश गरेको एडीबीको ठहर छ । नेपालमा पनि उक्त कम्पनीको काम सन्तोषजनक नदेखिएका कारण ऋण र अनुदान दुवै रोक्ने निर्णय गरेको हो ।
उक्त विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार एडीबीले ४० दशमलव पाँच प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
६ अर्ब २२ करोड रुपैयाँमा निर्माणाधीन आयोजनामा ओपेक फन्ड फर इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३० प्रतिशत ऋण छ । त्यसबाहेक ११ प्रतिशत नेपाल सरकारको लगानी रहनेछ ।
ऋण र अनुदान गरी उक्त आयोजनामा एडीबीको ५८ दशमलव पाँच प्रतिशत लगानी छ । दुवै शीर्षकको भुक्तानी एडीबीले रोक्ने भएपछि प्राधिकरण आयोजना अगाडि बढाउने कि नबढाउने भन्ने अन्योलमा परेको छ ।
आयोजना प्रमुख शर्मा भने एडीबीको चेतावनीबाट डराउनु पर्ने स्थिति नभएको दाबी गर्छन् । भन्छन्, ‘ऋण आएन भने विकास बजेटबाट यो आयोजनामा खर्च गर्न सकिन्छ ।’
दुई महिनामा थप १२ प्रतिशत काम नगरे ठेक्का तोडिने
आगामी दुई महिनामा चिनियाँ कम्पनीले थप १२ प्रतिशत प्रगति नदेखाए ठेक्का तोड्ने मनस्थितिमा प्राधिकरण छ । केही दिनअघि प्राधिकरण र अर्थ मन्त्रालयको टोली भैरहवा विमानस्थल पुगेको थियो ।
दबावमा परेको चिनियाँ कम्पनीले पछिल्लो समयमा कामदार थपेको छ भने व्यवस्थापन पनि फेरेको छ । नयाँ समूहले कामको गति बढाएको छ ।
अहिले आयोजना साइटमा करिब दुई सय मजदुरलाई काममा लगाइएको छ । थप अढाइ सय दक्ष कामदार चीनबाट ल्याइँदैछ ।
कामदार थोरै भएको र लक्ष्यअनुरुप काम नभएको बताउँदै प्राधिकरणले निर्माण कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पठाइसकेको छ । सरकारले ठेक्का तोड्न सक्ने संकेत पाएपछि व्यवस्थापन समूह परिवर्तन गरेको हो ।
तर, मासिक ६ प्रतिशतले काममा प्रगति देखिनुपर्नेमा शून्य दशमलव पाँच प्रतिशतका दरले मात्रै काम भइरहेको छ ।
स्रोत: अनलाइन खबर