तुलसीपुर,९ वैशाख। स्थानिय तहको निर्वाचन हुन अब २२ दिन बाँकि रहेको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न दिनरात खटिएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीले बताउनुभएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली रुजु गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । केन्द्रवाट प्राप्त नामावली रुजु गरिसेकपछि मतदान अधिकृतलाई उपलब्ध गराइने र त्यसपछि मात्र मतदाता नामावली मतदान स्थलमा पठाइने निर्वाचन प्रमुख कार्कीले जानकारी दिनुभयो । दाङमा २ लाख ९१ हजार १ सय ५० मतदाता रहेका छन् । त्यसैगरी कर्मचारीलाई तालिम दिन र मतदान अधिकृत, सहायक मतदान अधिकृत, कम्प्यूटर अप्रेटर लगायतका निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिन बाँकी रहेको प्रमुख कार्कीले बताउनुभयो । निर्वाचन शान्ति पूर्ण, धाँदली रहित र निष्पक्ष बनाउनका लागि सरोकालवाला निकाय संगको अन्तरक्रिया पनि गर्न बाँकी रहेको जिल्ला निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो । सुरक्षालाई मध्यनजर गर्दै सवारी सञ्चालन गर्न नदिने तर अशक्तहरुको मताधिकारलाई ख्याल गर्दै यातायातका व्यवस्था स्थानीय स्तरमै मिलाइने जिल्ला निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।।