सरकारी प्राथमिकतामा सयदिने कार्यक्रम
प्रदेश २ सरकारले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बुधबारको प्रदेश सभामा प्रस्तुत कार्यक्रममा सरकारले यसअघि नै सार्वजनिक गरेको सय दिनमा सुरु गर्ने कामलाई प्राथमिकता दिइएको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यसपछि मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले छलफलका लागि प्रस्ताव गरे । सरकारले २६ चैतमै ६० बुँदे नीति तथा कार्यक्रम प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो ।
सरकारको नीति तथा कार्यक्रम २० पृष्ठ लामो छ । नीति तथा कार्यक्रमको विषयमा अध्ययनका लागि प्रदेश सभा सदस्यलाई पाँच दिनको समय दिइएको छ । प्रदेश सभाको अर्को बैठक आगामी ३ वैशाखमा बस्ने गरी स्थगित भएको छ ।
नीति तथा कार्यक्रममा प्रदेशको पर्यटन प्रवद्र्धनको लागि धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको विकास र प्रदेशलाई सौन्दर्य बनाउने उल्लेख छ । स्थानीय लोकनाच, लोकबाजा तथा परम्पराको संरक्षण गर्नेसमेत उल्लेख छ ।
उपभोक्तालाई ध्यानमा राखेर प्रदेश सरकारले खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थजस्ता वस्तुको भण्डार गर्ने व्यवस्था मिलाउने भएको छ । खाद्यान्नमा मिसावट गरी बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कानुनी कारबाही गर्ने नीति अघि सारेको छ । आयुर्वेद चिकित्सालाई प्रवद्र्धन गर्न प्रदेश आयुर्वेदको संस्थानको स्थापनाको लागि अध्ययन गर्ने तथा प्रदेशलाई वैकल्पिक ऊर्जाको केन्द्र बनाउन सौर्य ऊर्जामा जोड दिने नीति प्रदेश सरकारको छ ।
अग्र्यानिक माछा उत्पादनमा जोड दिनुका साथै टमाटर तथा अन्य फलफूलमा आधारित घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवालाई सहुलियत दरमा बैंकबाट ऋण दिने कार्यक्रम छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुर अञ्चल अस्पताल, गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल तथा नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने पनि उल्लेख छ ।
प्रदेशमा आउने प्राकृतिक विपत्ति तथा महामारीबाट उद्दार र पुनःस्र्थापनाका लागि कोष स्थापना गर्ने घोषणा भएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ र बेटी बचाऊ’ अभियानलाई सफल बनाउनका लागि प्रदेश सरकारले विभिन्न बिमा कम्पनीहरूसँगको साझेदारीमा छोरीहरूको शिक्षा बिमा नीति ल्याउने भएको छ ।
पाँच क्षेत्र प्राथमिकतामा
प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम चौमासिकको नीति तथा कार्यक्रममा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति बनाइएको छ । त्यसैगरी, सरकारले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रोत्साहन गर्ने नीति पनि सार्वजनिक गरेको छ ।
तीन क्षेत्रमा औद्योगिक करिडोर
प्रदेश लगानी बोर्डले वीरगन्ज–पथलैया, जलेश्वर–जनकपुर–ढल्केबर र रोपनी–राजविराज क्षेत्रलाई औद्योगिक कोरिडोरको रूपमा विकास गर्नेछ । बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषिमा आधुनिकीकरणको नीति
कृषिमा आधारित उद्योगको स्थापना गर्ने घोषणा भएको छ । सिँचाइका लागि सुनकोसी कमला डाइभर्सन र बागमती तथा नारायणी नदीको प्रयोग गर्न अन्य प्रदेशसँग समन्वय र सहकार्य गर्ने पनि सरकारको नीति छ ।
मधेस आन्दोलन दिवस ५ माघमा
मधेस आन्दोलन सुरु भएको दिन ५ माघलाई मधेस आन्दोलन दिवस मनाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रहरीको गोली लागी ५ माघ ०६३ मा लहानमा रमेश महतोको मृत्यु भएको थियो ।
विपक्षी दलको प्रतिक्रिया
नीति तथा कार्यक्रम राम्ररी अध्ययन गर्न पाएका छैनौँ, सर्सर्ती हेर्दा राम्रै छ, केही त्रुटि भेटिए संशोधन प्रस्ताव ल्याउँछौँ ।
सत्यनारायण मण्डल
प्रमुख प्रतिपक्षी दलका नेता, एमाले
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्सर्ती हेर्दा सकारात्मक छ । अध्ययनपछि मात्र थप भन्न सकिन्छ ।
रामसरोज यादव
संसदीय दलका नेता, कांग्रेस
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।