गणेश घिमिरे, इलाम
वर्षा सुरु भएदेखि इलामका ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ । सदरमुकामदेखि जिल्लाका बिभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग बनेको छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यहि माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ ।
वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्ये भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पुरयाउँछन् । जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् ।
गन्तव्यमा पुग्नलाई कहिले बिग्रिएको बाटो सम्याउँदै, कहिले गाडी धकाल्दै पुग्नुपर्ने बाध्यता यात्रुहरुको रहेको छ । पानी परेपछि न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ । अरु समयमा तीन/चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्नुपरेको यात्रुहरुको भनाई छ ।
ठाउँ–ठाउँमा पहिरो गएका हिलाम्ये सडकहरुमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । ति सडकहरुमा न यातायातका साधनहरु जोखिम मोलेर चलि रहेको छ भने सडक मर्मततर्फ कुनै पक्षको ध्यान पनि गएको छैन । यात्राको करीब आधा समय यात्रुहरु गाडी धकल्दैमा बिताउँछन् । प्राविधिकको स्टमेटवीना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र यात्राका लागि खतरा बन्दै गएका छन् ।
प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ । गाँउबस्तीमा पर्ने असरबारे ख्याल नगरी बनाइएका धेरै मोड र साँघुरा सडकका कारण विकासभन्दा बढी विनास भएको स्थानीयले बताएका छन् ।
विगतमा हचुवाका भरमा सडक खनिएको इलाम माङसेबुङ गाउँपालिका स्थित बाँझोका टंक योङहाङले बताए । उनले भने ‘ती सडक अहिले जोखिममा रहेका छन् ।’ सवारी साधनहरुले यात्रु मात्र होइन साथमा कोदालो, साबेल लगायतका बाटो खन्ने सामग्री समेत बोकेर हिड्नुपर्ने बाध्यता छ ।
बर्खा लागेसंगै जिल्लाका अधिकाँश ग्रामिण सडकहरु हिलाम्ये भएर सवारी साधन सञ्चालनमा कठिनाई भएको छ । गाउँ–गाउँमा सडकको पहुँच पुरयाउने होडबाजीका साथ निर्माण भएका सडकहरु न त प्राविधिक रुपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै छन् । तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम भने रोकएको छैन ।
मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पुरयाउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको माईजोगमाई गाउँपालिका १ का प्रदिप राईले बताए ।
बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ । सडकको अवस्था विग्रिएको कारण सवारी साधनमा बढी क्षति पुग्ने भएकाले यात्रुहरुबाट धेरै भाडा लिनुपरेको सवारीधनीहरु बताउँछन् । माल सामान ढुवानीमा बर्षा सुरु हुने वित्तिकै साविकको भन्दा भाडा बढी हुने गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।