
भक्तपुर ।
भक्तपुरका चारैवटा स्थानीय तहमा स्थानीय बिरामीका लागि दुई बर्ष अघिबाट सुरु गरिएको निःशुल्क रगत वितरण कार्यक्रम प्रभावकारी र बृहत् बन्दै गएको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले भक्तपुर जिल्लाका सबै पालिकाबाट नेपालमै पहिलोपटक निःशुल्क रगत वितरणको सम्झौता भक्तपुरमा भएको बताउनुभयो । भक्तपुरका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सुर्यविनायक र चाँगुनारायणसँग छुट्टाछुट्टै सम्झौता गरेर नगरवासीका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले निःशुल्क रगत प्रदान गर्दै आएको छ ।
केन्द्रले भक्तपुरका चारवटा पालिकाका अतिरीक्त काठमाडौंको कागेश्वरी मनोहरा र चन्द्रागिरी नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिकासँग समेत सम्झौता गरी रगत तथा रक्ततत्व निःशुल्क वितरण गर्दै आइरहेको छ । केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरसँग सम्झौता गरी बागमती प्रदेश अन्तर्गतका सुचिकृत अस्पतालहरु, विर अस्पतालका थालासेमिया, हेमोफिलिया तथा सिंगल सेल एनिमियाका बिरामी, भक्तपुर अस्पतालका प्रसुति सेवाका लागि पनि निःशुल्क रगत तथा रक्ततत्व वितरण गर्दै आइरहेको पाण्डेले बताउनुभयो ।
यसका साथै नेपाल रेडक्रस सोसाईटी भक्तपुरको विपन्न तथा असहाय रक्तदाता कोष र हालै एक जना दाताको सहयोगमा पनि विपन्न र असहाय बिरामीलाई आवश्यक रगत तथा रक्ततत्व निःशुल्क प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो । ‘बिरामीले निःशुल्क रगत पाउन थालेपछि विपन्न नागरिकलाई निकै राहत पुगेको अनुभव छ,’ सभापति पाण्डेले भन्नुभयो ‘बिरामीलाई वितरण गरिएको रगतको शुल्क नगरपालिकाहरुले व्यहोर्ने गरेका छन् ।’
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । निःशुल्क रगतको सुविधा प्राप्त गर्न सम्बन्धित नगरपालिकाको स्थायी बासिन्दा हुनु जरुरी छ । यसका लागि उक्त नगरपालिकाको स्थायी बासिन्दा पुष्टि गर्ने सरकारी कागजात जस्तै, नागरिकता वा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ । बसाइँसराइ गरी आएको भए बसाइँसराइ प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ ।
केन्द्रले उपत्यका बाहिर पनि नेपाल रेडक्रस सोसाईटी दोलखा, रामेछाप र नुवाकोट शाखासँग पनि समन्वय गरी रगत संकलन गर्दै आइरहेको पाण्डेले बताउनुभयो । यसलाई थप प्रभावकारी र फराकिलो बनाउन अन्य नगरपालिका, गाउँपालिका र अस्पतालहरुसँग सहकार्य गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।रगत लिन आउने कोही पनि बिरामीका आफन्त खाली हात जानु नपरोस् भन्ने उद्देश्यले दैनिक रक्तदान कार्यक्रम हुँदै आएको छ ।
शाखाका सभापति परशुराम पाण्डेले सोही अवधिमा २५ हजार ९४० पिन्ट रगत सकलन गरेको जानकारी दिनुभयो । संकलित रगतलाई विभिन्न कम्पोनेन्टमा विभाजन गरी ५१ हजार २५१ पिन्ट वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले रगतको माग उच्च भएपनि संकलित रगतलाई व्यवस्थापन गरी सेवाग्राहीलाई खाली हात नफर्काएको दावी गर्नुभयो । “रगतको माग धेरै छ, भक्तपुरमा रगत अभावको बेलामा पनि तीन पिन्ट रगत लिन आउनेलाई एक पिन्ट मात्रै भनेपनि दिएर पठाएका छौँ । सेवाग्राही रित्तो हात फर्किनु परेको छैन,” उहाँले भन्नुभयो ।
भक्तपुरमा क्यान्सर अस्पताल र शहिद धर्मभक्त अंक प्रत्यारोपण केन्द्रका कारण पनि रगतको माग उच्च रहेको बताउँदैं उहाँले जति माग भएपनि नियमित, आकस्मिक रक्तदान कार्यक्रम र दातालाई सम्पर्क गरी केन्द्रमा बोलाएर भएपनि रगतको व्यवस्था गर्दै आएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा रक्तदान गर्ने २५ हजार ९४० मध्ये पाँच हजार ५५७ महिला रहेको र २० हजार ३ सय ८३ पुरुष छन् ।
केन्द्रले दैनिक रुपमा भक्तपुर दुधपाटीस्थित सिद्धपोखरी, नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा काठमाडौंको संयोजनमा जमल र भक्तपुरको सरस्वतीखेल बसपार्कमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको पाण्डेले बताउनुभयो । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो । उहाँले उपचारका लागि बिरामीले लगेको रगत प्रयोग नभएपछि केन्द्रमा फर्काएर नल्याउने, ल्याए पनि ढिला ल्याउने, रगतका केही कम्पोनेन्ट धेरै दिनसम्म फ्रिजमा सुरक्षित राख्न नसकिने प्राविधिक समस्याका कारण संकलित रगत खेर जाने समस्या पनि रहेको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापा नेपालमा अहिले शुन्य दशमलव ९२ प्रतिशत नागरिकबाट मात्रै रक्तदान हुने गरेको बताउँदै कूल जनसंख्याको २ प्रतिशत नागरिकले मात्रै रक्तदान गरिदिए नेपालमा रगतको अभाव कहिल्यै नहुने जिकिर गर्नुहुन्छ ।
उहाँले विगतमा रगतको किनबेच हुने गरेकोमा रेडक्रसले रक्तसञ्चार केन्द्रले सञ्चालन गरेयता त्यसरी किनबेच हुने कार्य बन्द भएको बताउनुभयो । रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिले काही रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भए पनि त्यस्ता बिरामीका लागि शाखासंग पाँचसय भन्दा बढी कलिङ रक्तदाता भएकाले उनीहरुलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको पनि शाखाले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।