काठमाडौं ।
घरेलु सौर्य ऊर्जा प्रणालीको बजार घट्दै गएको भए पनि नेपालमा समग्र सौर्य ऊर्जा प्रणालीको बजार भने ठूलो परिणाममा अझै बाँकी रहेको सरोकारवालाहरूको भनाइ छ । नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमेन)को २४औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रमका वक्ताहरूले सो सम्भावनालाई औंल्याएका हुन् ।
अध्ययनअनुसार नेपालमा सौर्य प्रविधिबाट वार्षिक ५० हजार टेरावाट विद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता रहेकोमा हाल १० हजार गिगावाट आवर मात्रै उत्पादन भइरहेको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा खरिद गर्ने नीतिलाई समेत अगाडि बढाएको हुँदा बजार पनि रहेको कार्यक्रममा जानकारी दिइयो । प्राधिकरणले चालू आर्थिक वर्षमा करिब ९ सय मेगावाट विद्युत् सौर्य ऊर्जाबाट खरिद गर्न बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विगतमा घरेलु सौर्य ऊर्जाका क्षेत्रमा काम गरिरहेका व्यवसायीहरूले अब ग्रिड कनेक्टेड सोलार सिस्टममा आफूलाई रुपान्तरण गर्नुपर्ने सुझाव दिए । देश पूर्ण विद्युतीकरणतर्फ गइसकेकाले अब मागमा आधारित पद्दति नभएको हुँदा व्यवसायीहरूले आफूलाई स्तोन्तनी गर्नुपर्ने बताए । अब करिब ६२ हजार घरधुरीमा मात्रै विद्युतीय ऊर्जा पु¥याउन बाँकी रहेकाले सोलार होम सिस्टमको बजार छैन । तर, समग्र सौर्य ऊर्जाको बजार भने बाँकी रहेको उहाँको भनाइ छ । सरकारको १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्यमध्ये नवीकरणीय ऊर्जाको स्रोतलाई करिब १५ सय मेगावाट छुट्टाइएको छ । त्यसको अधिकांश हिस्सा सौर्य ऊर्जामा पर्छ । तसर्थ सौर्य ऊर्जाको बजार विस्तार गर्न सम्भव रहेको बताए ।
छिमेकी देशहरूले रुफटप सोलार प्रणालीमा लिएका महत्वाकांक्षी लक्ष्यको फाइदा नेपालले लिनुपर्ने भन्दै विश्व बजारमा सौर्य ऊर्जाका प्रविधिको मूल्य घटिरहेकाले पनि बजारमा प्रतिस्पर्धा गर्न सहज रहेको उनको भनाइ छ । हाल राष्ट्रिय सभाको विधायन समितिमा छलफलका क्रममा रहेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भई ऐनका रूपमा आएपछि नेपालमा नवीकरणीय ऊर्जाले नयाँ बाटो समात्ने जानकारीसमेत दिए ।
कार्यक्रममा केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले सौर्य ऊर्जामा सम्भावना अथाह रहेको हुँदा सौर्य ऊर्जा उत्पादकहरूले आफ्नो क्षमता सुदृढीकरण गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै केन्द्रका उपनिर्देशक डा. लक्ष्मण घिमिरेले गत आर्थिक वर्षमा सौर्य ऊर्जाका क्षेत्रमा राखिएका कार्यक्रममा ९८ प्रतिशत लक्ष्य पूरा भएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा पनि केन्द्रले सौर्य मिनि ग्रिड, सौर्य सिँचाइलगायतका क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम तर्जुमा गरेको जानकारी दिए ।
सिमेनका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका संरक्षक रामबहादुर भण्डारीले सौर्य ऊर्जाको उत्पादन लागत सस्तो भएकाले औद्योगिक क्षेत्रको ऊर्जा आपूर्तिमा सौर्य ऊर्जा प्रयोग गर्न बजारीकरण गर्नेतर्फ व्यवसायीहरू संलग्न हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष कुशल गुरुङ, संघ पूर्वअध्यक्षहरू हिराबहादुर केसी, प्रकाशविक्रम बस्नेत, इन्द्र खनाललगायतले शुभकामना मन्तव्य दिएका थिए । संघमा हाल १३४ वटा कम्पनी सदस्य रहेका छन् । संघअन्तर्गत रहेका कम्पनीले अहिलेसम्म १० लाख घरधुरीमा सौर्य ऊर्जा पु¥याएका छन् भने ६ मेगावाटको रुपटप सौर्य मिनी ग्रिडसहित कुल ४६ मेगावाट क्षमताका सौर्य ऊर्जाका प्रणाली जडान भएका छन् । वार्षिक उत्सवका अवसरमा सौर्य ऊर्जाका क्षेत्रमा क्रियाशील इन्जिनियरहरूलाई पीभी सिस्टमको डिजाइन र सफ्टवेयर प्रयोगसम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।