
उदयपुर ।
कृषि क्षेत्रमा उदयपुर जिल्ला अगाडि भएपनि कृषि बाली बिमाका क्षेत्रमा भने उदयपुर शुन्य अवस्थामा रहेको पाइएको छ ।
बिहीबार उदयपुरको गाईघाटमा कृषि ज्ञान केन्द्र द्धारा आयोजित बाली तथा पशुपन्छी बिमा सम्बन्धी सरोकारबालासँगको समन्वय बैठकमा बिमा कम्पनिका तर्फबाट उदयपुरमा कृषि बाली तथा पशुपन्छी विमा गर्न तोकिएको सगरमाथा लुम्बिनी विमा कम्पनिका डिल्ली कटुवालले बताएका छन ।
सगरमाथा लुम्बिनी विमा कम्पनिका उदयपुर प्रमुख समेत रहेका कटुवालले उदयपुरमा पशुपन्छी विमा हुने गरेको तर कृषि बाली विमा भने आजसम्म नभएको बताए ।
कटुवालले करिब २ करोड पशुपन्छी विमा रोतामार्ई गाउँपालिका, त्रियुगा नगरपालिकाका पीडित किसानलाई वितरण गरेको बताए । किसानहरुले लगाएको बाली तथा पालेको पशुपन्छीहरु बाढी पहिरोबाट नष्ट भएमा, आगोले जलेमा, सुख्खा खडेरीले नास भएमा,भूक्षय लगायतका धेरै कारणले नष्ट भएमा क्षति वापत विमा दावी गरेपछि प्रमाणका आधारमा विमा कम्पनिले भूक्तानी दिने गरेको कटुवालले बताए ।
कृषि ज्ञान केन्द्र तथा पालिका स्तरमा रहेका कृषि शाखाले पनि यस बारेमा कृषकहरुलाई बुझाउने काम नगरेको र ठोस कदम चाल्न नसकेको देखिन्छ । किसानहरुले पनि कृषि बाली बिमाका बारेमा आफ्नो पालिका भित्रका वा कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकसँग समन्वय वा सम्पर्क गर्न नसक्दा किसानहरुको कृषि बालीको विमा हुन नसकेको कुरा कार्यक्रममा बताएको छ ।
सो कार्यक्रममा सगरमाथा लुम्बिनी विमा कम्पनिका उदयपुर प्रमुख डिल्ली कटुवालले किसानहरुले गरेको खेतीमा हानी नोक्सानी भएमा सरकारले कृषि बालीको विमा गरेर हानी नोक्सानी हुनबाट जोगाउन विमा कार्यक्रम संचालन गरेको जानकारी दिएका छन ।
खासमा कृषि प्राविधिकहरुले कृषि बाली विमाका बारेमा बुझाउन नसक्दाका अवस्थामा किसानहरुमा कृषि विमाका बारेमा प्रयाप्त जानकारी नहुँदा कृषि बाली विमाबाट किसानहरु बञ्चित हुनु परेको जानकारी कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरकी सदस्य गोमा कार्कीले दिएकीछन । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख शुक्र बहादुर लिम्बुले उदयपुरमा पशुपन्छी विमा कार्यक्रम सफल भएकोले कृषि बाली विमा कार्यक्रम पनि सफल पार्न हामी सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवले कृषि बाली विमा कार्यक्रम संघीय सरकारको कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा विमा समिति रहेको हुँदा विमा सम्बन्धि कामहरु विमा प्राधिकरणसँगको समन्वयमा हुने गरेको बताउनु भयो । कृषि ज्ञान केन्द्र प्रमुख यादवले जिल्लाका किसानहरु सक्रिय रुपमा काम गर्न सक्ने तर विमा कार्यक्रममा सहभागी नहुनुले किसानहरुलाई कृषि उत्पादनको सुरक्षमा सहयोग गर्न नसकेको बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।