२१ कात्तिक , म्याग्दी – दुर्गम क्षेत्रमा रहेको एक विद्यालय आर्थिक संकटमा परेको छ । रघुगंगा गाउँपालिका– ६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालय निजी स्रोतका शिक्षकको तलब सुविधा जुटाउन नसकेर संकटमा परेको हो । प्रावि तहका तीन जनाको दरबन्दी रहेको विद्यालयमा चार निजी स्रोतका शिक्षक कार्यरत छन् । कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा ८० बालबालिका अध्ययनरत छन् ।
दुर्गम बस्ती भएकाले विद्यालय सेवा क्षेत्रका अधिकांश अभिभावकको आर्थिक अवस्था कमजोर रहेको र विद्यालयले चार शिक्षकको नियमित रुपमा तलबभत्ता जुटाउनुपर्दा आर्थिक समस्या भएको प्रअ खिममाया छन्त्यालले बताउनुभयो । ‘‘चन्दा संकलन र देउसीभैलोबाट विद्यालय चलाएका छाँै, अर्थ अभावले भौतिक पूर्वाधार समेत निर्माण हुनसकेको छैन्,’’, प्रअ छन्त्यालले भन्नुभयो । विसं २०७२ को भूकम्पबाट पूर्ण रुपमा प्रभावित भएको सो विद्यालयमा अहिले पनि बालबालिका अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य छन् ।
विभिन्न संघसंस्था तथा सहयोगदाताबाट अर्थ संकलन गरी निर्माण गरिएको टिनको अस्थायी टहरामा बसेर अध्ययन गर्नुपर्दा विद्यार्थीलाई कष्टकर भएको छ । पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापीकिताब भिज्ने, चिसो हुने र होहल्ला बढी हुने समस्या रहेको कक्षा ८ की छात्रा पुनम छन्त्याल बताउँछिन् । पूर्वाधार अभावका कारण विद्यार्थीको सिकाइ र पढाइमा असर परेको छ ।
जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजार अनुदान र स्थानीय बासिन्दाको रु पाँच लाख बराबरको श्रमदानमा तीनकोठे तथा अमेरिकाको ग्लोबल न्युट्रेशन एण्ड इमपावरमेन्ट संस्थाको सहयोग र समुदायको रु एक लाख बराबरको श्रमदानमा अर्को दुईकोठे भवन निर्माण भएपछि विद्यालयलाई केही राहत मिलेको छ ।
पाँच कक्षाका विद्यार्थीलाई नयाँ भवनमा राखेर अध्यापन गर्न थालिए पनि अझै तीन कक्षाका विद्यार्थीलाई टिनको टहरामै राखेर अध्यापन गराउने गरिएको प्रअ छन्त्यालले बताउनुभयो। अहिले पनि कक्षाकोठा भवन निर्माणधीन रहे पनि विद्यालयका कार्यालय, पुस्तकालय, प्रयोगशालालगायतको प्रयोजनका लागि पूर्वाधार अभाव हुने विद्यालयका शिक्षक उमेश पौडेलले बताउनुभयो ।
साना बालबालिकालाई घण्टाँै हिँडेर स्कूल जानुपर्ने बाध्यता हटाउन २०६९ सालदेखि विद्यालयमा ६ देखि ८ कक्षासम्मको थप पठनपाठन शुरु गरिएको थियो तर समुदायले चालेको पहलमा सरोकार भएका निकाय र सरकारी तवरबाट सहयोग नहुँदा विद्यालय संकटमा परेको हो । भवन अभावकै कारण विद्यालयमा अहिलेसम्म पुस्तकालय छैन ।
पुस्तकालय र कम्युटर ल्याब नहुँदा विद्यार्थी खोजी गरी अध्ययन गर्ने अवसरबाट वञ्चितमा परेका छन् । यसैबीच केन्द्रीय विद्युत्को पहँुच नपुगेका कारण विद्यालयमा शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग हुन सकेको छैन ।
स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाबाट रातमा मात्रै बिजुली आउने र केन्द्रीय विद्युत्को पहुँच नपुगेकाले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने तयारी गरिए पनि समस्या देखिएको छ ।
रासस