प्रवासीद्वारा विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग
शान्ता कमली/ नयाँ पत्रिका लमजुङ, २७ चैत | २७ मिनेट अगाडि
दुधपोखरी गाउँपालिका १ मा रहेको कल्लावारी माविलाई कतार बस्ने युवाहरुले कम्प्युटर र प्रोजेक्टर सहयोग गरेका छन् । कतार बस्नेले रकम संकलन गरी कम्प्युटर र प्रोजेक्टर किनेर दिएका हुन् । आईटीको जमानामा गाउँका बालबालिकाले कम्प्युटर शिक्षा पढ्न पाउन् भन्ने उद्देश्यले सानो सहयोग गरिएको हाल कतार रहेका लमजुङ कतार सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।
विदेशमा भएर पनि समाजका लागि केही गरौँ भन्ने अभिप्रायले विद्यालयलाई कम्प्युटर सहयोग गरेको मगरले बताए । अहिले सूचना र प्रविधिको प्रयोग बढेको छ श्रेष्ठले भने –’गाउँमा पढ्ने विद्यार्थीले कम्प्युटर सिक्नकै लागि गाउँ छाड्न नपरोस् ।’
समाजले दुधपोखरी गाउँपालिका वडा नम्बर १ छमारचोकमा रहेको कल्लावारी माविलाई दुई थान कम्प्युटर र एक थान प्रोजेक्टर मंगलबार जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कर्डेलको रोहबरमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद दवाडीलाई प्रदेश नं ४ का सांसद धनजय दवाडीले प्रदान गरेका हुन् ।
कम्प्युटर र प्रोजेक्टर प्रदान गदै प्रदेश ४ का सांसद दवाडीले लमजुङको दुर्गम गाउँपालिकामा रहेको कल्लावारी माविलाई प्रविधियुक्त बनाउनुपर्ने बताए । उनले भने ‘२१ औ शताव्दीमा पनि विद्याथीहरु सुचना र प्रविधिबाट वञ्चित हुनु हुदैन ।’ उनले दुर्गममा रहेको सामुदायिक विद्यालयलाई सहयोगी हातहरुको आवश्यक रहेको भन्दै विद्यालयलाई सहयोग गर्न आफु निरन्तर लागी रहने प्रतिबद्धता जनाए ।
जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कर्डेलले शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्नुपर्ने बताए । सरकारले सामुदायिक विद्यालयलाई प्रविधि सम्पन्न बनाउन सकेमात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । उनले भने- ‘विद्यालयलाई प्राविधीमैत्री बनाउन स्थानीय सरकार लागी पर्नुपर्छ ।’
कार्यक्रममा बेसीशहर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गणेश कर्डेलले विभिन्न संघसंस्थाले प्रदान गरेको कम्प्युटरको प्रयोग हुन आवश्यक रहेको बताए । विद्यालयमा उपलब्ध कम्प्युटरबाट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई समेत अतिरिक्त समयमा आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दवाडीले बताए ।
हाल ६ देखि ८ कक्षासम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । विद्यालयमा १४ थान कम्प्युटर रहेको छ । विद्यालयमा विद्यार्थीलाई आवश्यक पर्ने कम्प्युटर नहुँदा विद्यार्थीहरु सूचना र प्रविधिबाट वञ्चित हुनु परेको प्रअ दवाडीले बताए । उनले भने ‘प्रावि दरबन्दी विद्यालयलाई समुदायले समुदायमा नै रकम संकलन गरी माविसम्मको पठनपाठन गराउँदै आएको छ । कल्लावारी माविमा हाल दुई सय जना विद्यार्थी अध्यायनरत छन् । ‘
रोजगारीको खोजी गर्दै कतारमा पुगेका युवाहरुले खाजा खर्च कटाएर गाउँको दुर्गममा रहेको विद्यालयलाई सहयोग गरेको लमजुङ कतार सेवा समाजका सदस्य विनोद थापा मगरले बताए । ‘सूचना र प्रविधिको प्रयोग बढेसँगै गाउँमा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाउन् भन्ने हाम्रो उद्देश्य हो’ उनले भने । कम्प्युटर शिक्षाबाट कुनै पनि विद्यार्थी बञ्चित नहोस् भनी स्वतस्स्फूर्त रकम संकलन गरेर कम्प्युटर खरिद गरी विद्यालयलाई प्रदान गरेको थापामगरले बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।