राजस्व बढाउन भन्सारमा कडाइ –
भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल भित्रिने सामानको परिमाण प्रत्येक दिन बढ्दै गए पनि नेपाली वस्तुको निर्यात भने घटिरहेको छ । भारतबाट नेपालमा सामान आयात गर्न नौ हजार दुई सयले प्रज्ञापन पत्र लिएका छन् । तर, नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल चार सय १६ ले मात्र प्रज्ञापन पत्र लिएका छन् ।
प्रज्ञापन पत्र लिएको आधारमा सामान आयात र निर्यातको अवस्था बुझ्न सकिने नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत सुभाषकुमार श्रेष्ठले बताए । उनले नेपालगन्ज नाका भएर एकदमै कम सामान भारत निर्यात हुने गरेको बताए । नेपालबाट जडीबुटी, खनिज र स्थानीयस्तरमा पाइने कच्चा पदार्थ भारत निर्यात हुने गरेको श्रेष्ठले बताए ।
थोरै मूल्यका सामान मात्र निर्यात
नेपालगन्ज नाकाबाट सस्तो मूल्यका सामान मात्र भारतमा भित्रिने गरेका छन् । जडीबुटी, खोटो, वनस्पति उत्पादन, नौनी, बटर, घ्यू, राँगाको मासु, तर्पिन तेल, पिना, अदुवा, सुठोलगायत मसालाजन्य वस्तु भारत जाने गरेको छ । ‘स्थानीय र प्राकृतिक उत्पादनका वस्तु मात्र भारत जाने गरेको छ, नौ महिनाको अवधिमा १० लाख ६२ हजार ४८६ रुपैयाँ मूल्य बराबरको जडीबुटी भारत निर्यात भएको छ,’ उनले भने । आर्थिक वर्ष ०७२/७३ मा जडीबुटी मात्र ३३ लाख २६ हजार र ०७३/७४ मा २७ लाख ४ हजारको मात्र निर्यात भएको थियो ।
चामल र कनिकाबाट मात्र साढेचार अर्ब राजस्व
भारतबाट सस्तो शुल्कदेखि महँगा सामान भित्रिने गरेका छन् । भारतबाट मेसिनरी उपकरण, पार्टपुर्जा, हाइस्पिड डिजेल, पेट्रोल, सिमेन्ट क्लिंकर, सिमेन्ट, खाना पकाउने एलपी ग्यास, पत्थर (कोइला) कपर स्केपजस्ता सामग्री नेपाल आउने गरेको छ । पछिल्लो समय भारतबाट ठूलो परिमाणमा चामल, कनिका र दाल आउने गरेको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । ०३५ अघि नेपालबाट चामल र कनिका भारत निर्यात हुने गरेको थियो । त्यसवेला धान, चामल निर्यात कम्पनी नेपालमा सञ्चालनमा थियो । ‘यस चालू आर्थिक वर्षमा मात्र चामल र कनिका आयात गरेबापत चार अर्ब ३२ करोड ७९ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने ।
पेट्रोलियम पदार्थ राजस्वको प्रमुख स्रोत
नेपालगन्ज भन्सार कार्यालयबाट अहिले सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिने गरेको छ । पेट्रोलियम पदार्थ भित्रिएकै कारण सरकारले दिएको लक्ष्य पूरा गर्न सकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यस आवमा हाइस्पिड डिजेल आयातबाट ६ अर्ब ४३ करोड २६ लाख एक हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पेट्रोल आयातबाट एक अर्ब २१ करोड ६० लाख चार हजार रुपैयाँ र खाना पकाउने एलपी ग्यास आयातबापत एक अर्ब ४९ करोड ३५ लाख ६३ हजार राजस्व संकलन भएको श्रेष्ठले बताए । ‘पेट्रोलियम पदार्थ आयात भएन भने नेपालगन्ज भन्सारलाई राजस्व संकलनमा ठूलो धक्का पुग्छ, पेट्रोलियम पदार्थले लक्ष्य पुर्याउन सहयोग गरेको छ,’ उनले भने ।
राजस्व बढाउन नाकामा कडाइ
नेपालगन्ज भन्सार कार्यालयले भारतबाट ल्याउने सामानमा कडाइ गरेको छ । सरकारले राजस्व संकलनमा कडाइ गर्न र भन्सार नीतिअनुसार अगाडि बढ्न निर्देशन दिएपछि कडाइ गरेकोे भन्सार कार्यालयले जनाएको छ । अहिले एक सयभन्दा माथिका सामानको भन्सार लिने गरेको भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी श्रेष्ठले बताए । भन्सारमा कडाइ गरेपछि चिनी लिन भारत जानेहरूसमेत प्रभावित भएका छन् । ‘हामीले कडाइ गरेका होइनौँ, भन्सार ऐनअनुसार राजस्व लिएका मात्र हौँ,’ उनले भने । भन्सार ऐनअनुसार दोस्रो देशबाट एक सय रुपैयाँ माथिको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने प्रावधान छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।