नेपाल समाचारपत्र, काठमाडौं ।
दुर्लभ जन्तु हिउँ चितुवा संरक्षणका लागि युवा पुस्ता परिचालन गर्न नेपालले जोड दिएको छ । किर्गिस्तानमा सम्पन्न ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’ (जीएलएसईपी) को बैठकमा नेपालले यस्तो सुझाव प्रस्ताव गरेको हो ।
हिउँ चितुवा पाइने विभिन्न १२ मुलुक संलग्न जीएलएसईपीको तेस्रो बैठकलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले भन्नुभयो–‘स्थानीय बासिन्दा र युवा पुस्ताको सहभागिताबिना हिमचितुवा संरक्षण प्रभावकारी हुन सक्दैन ।’ हिउँ चितुवाबारेको अध्यययन÷अनुसन्धानलाई परिणाममुखी बनाउन कञ्चनजंगा संरक्षण क्षेत्रमा सहित अन्नपूर्ण तथा शे–फोक्सुण्डो क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापना गर्न सरकारले गृह कार्य अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
दुई दिने बैठक शुक्रवार सम्पन्न भएको हो । बैठकले हिउँ चितुवाको संख्या यकिन गर्न सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गर्नका लागि सबै मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गर्ने निर्णय गरेको छ ।
यो जन्तुको अवैध चोरी शिकारी र अवैध व्यापार नियन्त्रणमा सहमत भएका सदस्य राष्ट्रहरु वन्यजन्तुविरुद्धका सबै प्रकार गतिविधि अनुगमन गर्ने भएका छन् । बैठकमा नेपाल सहित अफगानिस्तान, भुटान, चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजाकिस्तान, उज्वेकिस्तानका वन तथा वातावरणमन्त्री र अन्य सरकारी अधिकारी सहभागी थिए ।
नेपालमा यो जन्तुको संख्या ५ सयका हाराहारीमा भएको अुनमान गरिएको छ भने विश्वमा यसको संख्या अधिकतम संख्या ६ हजार ५ सयका हाराहारीमा भएको अनुमान छ । जीएलएसईपी दोस्रो बैठक गत वर्ष काठमाडौंमा आयोजना भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।