उदयपुर ।
बैशाखको दोश्रो साताबाट उत्पादन शुरु भएको उदयपुर सिमेन्ट उद्योग करिब १५ दिन संचालन भएर कोइला सकिएको जनाउँदै एकसातादेखि पुनः उत्पादन बन्द भएको छ ।
गत मंसिर महिनामा कोइलाकै अभाव देखाउँदै बन्द भएको सिमेन्ट उद्योग छ महिना बन्द भएर मौज्दात कोइलाको खपत गराउँदै उत्पादन शुरु भएको र सिमेन्ट बनाउन आवश्यक पर्ने क्लिंकर उत्पादन गरेर करिब ८ करोड बराबरको सिमेन्ट उत्पादन गरेर उद्योग बन्द भएको हो ।

नेपाल सरकारले गत बेशाख १५ गते दुई सरकारी सिमेन्ट उद्योग नीजिकरण गरेर संचालन गर्ने नीति लिएपछि उदयपुरको उदयपुर सिमेन्ट उद्योग र मकवानपुरको हेटौडास्थित हेटौडा सिमेन्ट उद्योग दुबैलाई नीजिकरण गरेर संचालन गर्न पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको समितिले नेपाल सरकारलाई सुझाव दिएको थियो ।
सोही सुझावलाई आधार मानेर हेटौडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ भने उदयपुर सिमेन्ट उद्योग पनि कोइला सकिएको निहु बनाएर बन्द गरिएको छ । उद्योग बन्द भएका विषयमा उदयपुर सिमेन्ट उद्योग जलजलेका निमित्त महाप्रवन्धक महेश साहले कारखानाको सिमेन्ट उत्पादनमा आवश्यक पर्ने स्टकमा रहेको कोइला सकिएकोले उत्पादन बन्द भएको र कोइला खरिद गर्न टेण्डर प्रक्रियामा जानु पर्ने भएकोले समय लाग्ने बताउनु भयो ।
जापान सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएर २०४९ साल कार्तिक महिनादेखि उत्पादन शुरु गरेको उदयपुर सिमेन्ट उद्योगमा हाल संचालक समितिका अध्यक्ष र महाप्रबन्धक दुबै जना नरहेका अवस्था रहेको र सरकारले अध्यक्ष र महाप्रबन्धक नियुक्तिकालागि विगत वर्षमा नै प्रक्रिया अघि बढाएको भएपनि भए पनि आपसी विवादका कारण हालसम्म पनि अध्यक्ष र महाप्रबन्धक नियुक्ति हुन नसकेको अवस्था रहेको छ । तत्कालिन महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएपछि हाल नायव महाप्रबन्धकका रुपमा रहनु भएका कर्मचारी महेश प्रसाद साहले उद्योगको निमित्त महाप्रबन्धकको जिम्मेवारी पाएर उद्योगलाई नियमित संचालनको प्रयास गरिरहेका छन् ।

सिमेन्ट उत्पादन गर्न कोइला अत्यधिक महंगो भएकोले पनि समस्या भएको जनाउँदै उद्योग श्रोतले २०७३ सालमा प्रतिटन १८,५००। मा कोइला पाइन्थ्यो भने सिमेन्टको मुल्य ५० किलोग्रामको बोराको ९१२। रुपैया थियो । तर पछि रुस र युक्रेनको युद्ध शुरु भएपछि कोइलाको मुल्य बढेर प्रतिटन रु २७५००। पुग्यो । यो बेलामा सिमेन्टको मुल्य प्रतिबोरा ५० केजिको रु ६५०। थियो । यही समयबाट सिमेन्ट उद्योग घाटामा जान शुरु गरेको श्रोतको दावी छ ।
सरकारी कारखाना भएकोले मेसन मर्मत संभार, कोइला लगायतका सामानहरु, धेरै कामहरु कानुनी प्रक्रियानुसार टेण्डर प्रक्रियाबाट गर्नु पर्ने भएकोले पनि बेलाबेलामा कारखानाको उत्पादन बन्द हुने गरेको श्रोतले जनाएको छ । दैनिक ८ सयटन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योगमा पुरा क्षमता उत्पादन गर्ने प्रयास भएको तर समय समयमा बन्द हुने गरेपछि पुन संचालन गर्दा क्षमतानुसार उत्पादन गर्न नसकिएको श्रोतले जनाएको छ ।
छ महिनापछि बैशाखमा उत्पादन शुरु गर्दा दैनिक १० हजार बोरा अर्थात् ५ सयटन उत्पादन भएको र बजार मुल्य रु। ७५१ । तोकिएको अवस्था रहेपनि कोइलाको अभावमा नै उद्योग बन्द हुनु आर्थिक संकटको प्रमाण भएको श्रोतकोे दावी रहेको छ ।
अर्कोतर्फ सिमेन्ट उद्योगले उत्पादन गर्न १० मेगावाट क्षमताको विद्युत प्रयोग गर्ने अनुमती पाएको र यसको न्यनतम शुल्क १२ लाख रहेको छ । सिमेन्ट उत्पादन नहुँदा उद्योगको आम्दानी नहुने भएकोले समयमा विद्युतको विल तिर्न नसक्दा बक्यौता रहने गरेको लेखा श्रोतले जनाएको छ ।

दुई वर्षदेखिको विद्युत महशुल भुक्तानी गर्न बाँकी रहेको र केही रकम बुझाउँदै गरेकोले बाँकी रकम पनि बुझाउदै जाने योजना रहेको उद्योगका सि।ए। गोपाल बस्यालले जनाएका छन् । सि.ए बस्यालका अनुसार ६ महिनादेखि तलव खान नपाएको अवस्था रहेको, विद्युतको महशुल भुक्तानी गर्न बाँकी रहेको, ११३ जना अवकास प्राप्त कमर्चारीहरुको सेवा सुविधा भुक्तानी गर्न करिब ७० करोड बाँकी रहेको, राजस्व तथा मुल्यअभिवृद्धि कर लगायतका धेरै प्रकारका भुक्तानी दिन बाँकी रहेको छ ।
उद्योगका अवकास प्राप्त ५ जना सेवा निवृत कर्मचारीहरुले आर्थिक अभावमा उपचार गर्न नपाई ज्यान गुमाउनु परेको छ भने यसरी ज्यान गुमाउनेहरुमा लक्ष्मी नारायण चौधरी, चन्द्रकान्त चौधरी, हरिकुमार दाहाल, देवी प्रसाद वजगाई र अशोक कुमार चौधरी रहेको उद्योगले जनाएको छ । ज्यान गुमाउनेहरु कोही मृगौला रोगी, कोही मुटु रोगी, कोही सुगर प्रेसरबाट पीडित भएका थिए । तर आर्थिक अभावका कारण समयमा उपाचर नपाउँदा ज्यान गुमाउन पुगेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।